विचार/ब्लग

भूकम्प गएपछि स्वास्थ्य रहन अपनाउनुपर्ने साबधानी र डाक्टरका महत्वपूर्ण सुझाव

ठुलो भूकम्प गइसकेपछि त्यस भूकम्पले बढी मात्रामा जनधनको क्षति पुर्याएको हुन्छ । साथै मानिसहरु डरको कारण एकै ठाउँमा बस्ने र खाने गरेका हुन्छन् । यसरी एकै ठाउँमा धेरै मानिसहरु बस्ने भएपछि फोहोर हुने , जथाभावि दिसापिसाब गर्ने, सफा खानेपानीको अभाव हुने गर्दछ । साथै घरहरु भत्केर तथा पुरिएर मानिसहरु एवं पशुपक्षिंहरुको मृत्यु भएको हुन सक्छ र समयमा लासहरु निकाल्न सकिएन भने लासहरु सढेर त्यसबाट वातावरणमा दुर्गन्ध फैलिन्छ । पुरिएका लासहरु झिक्ने कार्य निकै कठिन रहन्छ । किनभने लास कहाँ छ भनेर थाहा पाउन तथा भत्कीएको सामानहरु अर्थात भग्नावशेष हटाइ लास भएको स्थानसम्म पुग्न पनि निकै कठिन हुन्छ । साथै कतिपय ठाउँमा भग्नावशेष हटाउने जनशक्तीको अभाव रहन सक्छ । यी विविध कारणहरुबाट विभिन्न प्रकारका रोगको संक्रमण भएर महामारीको रुप लिन सक्छ । विशेष गरेर बालबच्चाहरु वृद्ध र वृद्धाहरु, सुत्केरी महिलाहरु तथा बिरामीहरुलाई रुघाखोकी, दम, निमोनीया, झाडापखाला, हैजा, जस्ता आदी सरुवा रोगहरु लाग्ने सम्भावना बढी हुन्छ । तसर्थ यस्तो बेलामा आम नागरीकलाई महामारीबाट बचाउनको लागी सचेतना जगाउन पर्ने हुन्छ र यस कार्यको दायित्व भनेको सरकारको हुन्छ ।

२०७२ सालमा ठुलो भूकम्प गइसकेपछि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समयमा नै जनतालाई सचेत गराउन हेतु भूकम्पको विपद् पश्चात् फैलिन सक्ने महामारी तथा अन्य रोग र रोगथामको लागी अपनाउनु पर्ने अत्यावश्यक जानकारी शिर्षक दिएर राष्ट्रिय दैनिक पत्रिकाहरु मार्फत सुचना प्रकाशित गरेको थियो । साथै नेपालको विभिन्न एफएम, रेडियो तथा टेलिभिजन च्यानलहरुमार्फत पनि प्रसारण गरिएका थिए । जस अनुसार ‘आम जनताले अपनाउनु पर्ने  साबधानीहरु’ निम्नानुसार उल्लेख गरिएका छन् :

‘आम जनताले अपनाउनु पर्ने  साबधानीहरु’

१. भूकम्प प्रभावित क्षेत्रमा अस्थायी बसोबास बनाइ बस्नु भएका आम नागरिकहरुको त्यस्ता स्थानमा अस्थायी चर्पीको व्यवस्था गरौँ । चर्पीमा दिसापिसाब गरौँ र गराऔँ ।

२. खानेपानी आपूर्ति व्यवस्थापन समन्वय गरौँ र खानेपानी उमालेर वा शुद्धीकरण गरेर मात्र खाने गरौँ ।

३. खाना छुनु, खानु, खुवाउनु अघि र दिशा छोएपछि साबुन पानीले हात धुने गरौँ ।

४. सडेगलेको, बासी र झिंगा भन्केको खानेकुराहरु नखाऔँ र नखूवाऔँ ।

५. नाक र मुखमा मास्क वा सफा कपडाले छोप्ने गरौँ ।

६. घाइते, बिरामी, वृद्ध, वृद्ध, बालबच्चा, गर्भवती तथा सुत्केरी महीलाहरुका स्वास्थ्य सुरक्षाको लागी विशेष ध्यान पुर्याऔं ।

७. दीर्घरोगी, नियमित औषधी उपचार गराइरहेका व्यक्तिहरुको उपचारको निरन्तरताको लागी सहयोग गरौं ।

८. स्वास्थ्य सुरक्षाको लागि भत्केका घर, मन्दिर, भवनमा नजाऔं र बालबालिकालाई जान नदिऔं ।

९. भूकम्प पछि हैजा, झाडापखाला र टाइफाईड जस्ता सरुवा रोगहरु लाग्न सक्ने भएकोले रोकथामका उपायहरु अपनाऔं ।

१०. सरुवा रोगहरुबाट बच्न सकेसम्म भीडभाडमा नबस्ने र बस्नै परेमा कम्तीमा १ मिटरको दूरी कायम राखी जाने गरौं ।

११. घाईते , पीडित व्यक्तिहरुको नजिकको स्वास्थ्य संस्था, अस्पताल वा शिवीरको तुरुन्त पुर्याऔं ।

भूकम्पपछीको घडिमा सम्पूर्ण सचेत आम नागरीकहरुले नेपाल सरकारको दिएका माथि उल्लेखित सुझावहरुलाई अनुसरण गरी अरुलाई पनी पालना गर्न उत्प्रेरित गराउने दायित्व बोध गर्नुपर्छ । यदि यस आव्हानलाई अनुसरण गर्यो भने निश्चितरुपमा विभिन्न किसिमका महामारी तथा अन्य रोगहरुबाट बच्न सफल भइन्छ र स्वास्थ्यकर्मीहरुलाई भूकम्पबाट घाईते भएकाहरुलाई मात्र उपचार गर्नमा ध्यान केन्द्रित गर्ने अवसर रहन्छ अन्यथा महामारीबाट प्रभावित बिरामीहरुलाई समेत उपचार गर्ने कार्यमा खटिनु पर्ने हुन्छ । यसरी स्वास्थ्यकर्मीहरुलाई दोहोरो सेवा दिने कार्य भनेको सहज हुदैन र बिरामीहरुले पनि उचित सेवा पाउनबाट बञ्चित हुने सम्भावना रहन्छ ।
यदि विपद्को घटना, जस्तै विनासकारी भूकम्प गए पश्चात धेरै मानिसहरु एकै स्थानमा बस्दा स्वाभाविक स्पमा सरसफाई तथा स्वास्थ्यमा हेलचेक्राई हुन जान्छ जसको कारण कमजोर मानिसहरुमा विभिन्न किसीमका रोगहरु लाग्ने र यसले छोटो समयमा महामारीको रुप लिन सक्छ भनेर डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विशेषज्ञले बताउँदछन् । तर्सथ उहाँले यस्तो बेलामा कुन कुन रोगहरु लाग्न सक्छ र ती रोगहरुबाट कसरी बच्न सकिन्छ भनेर सुझावहरु दिनु भएको छ र ती निम्नानुसार छन् :

डा. रवीन्द्र पाण्डेका सुझावहरु 

१) स्वाच्छ खानेपानी र ताजा खानेकुराको अभावका कारण टाइफाइड ,झाडापखाला , जन्डिस् आएँ, रुघाखोकी, फ्लू जस्ता आदि रोगहरु फैलिन सक्छन् । यी रोगहरुबाट बच्नको लागि सकभर उमालेको पानी पिउने र ताजा खाना खाने व्यवस्था मिलाउने ।

२) भूकम्प गइसकेपछि प्रायःजसो अवस्थामा वर्षा हुने संभावना रहन्छ र यदी वर्षामा भिज्यो भने बालबालिका तथा वृद्धवृद्धालाई निमोनीया, ब्रोन्काइटिस, दम, चिसोको एलर्जी, आदि रोग लाग्ने खतरा हुन्छ । तसर्थ बालबालीका तथा वृद्धवृद्धालाई वर्षामा भिज्नबाट बचाउने प्रयास गर्ने, तातो खाना र पानी ख्वाउने, घाम लागेको भए घाममा बस्न दिने, अनि समयमा नै उपाचार गर्ने व्यवस्था मिलाउने ।

३) रक्तचाप, मधुमेह, मानसिक रोग, हार्मोन्जन्य रोग, आदिका रोगीले नियमीतरुपमा औषधी सेवन गरीराखेको हुन्छ । उनीहरुलाई कुनै हालतमा औषधी सेवन गर्नबाट बञ्चित गर्नु हुदैन अन्यथा उनीहरुलाई रोगले च्याप्दै जाने खतरा हुन्छ ।

४) ठुलो भूकम्प गइसकेपछि पनि साना साना परकम्पहरु गई नै रहन्छन् जसको कारण केटाकेटी, धेरै संवेदनशील व्यक्ति तथा वृद्धवृद्धाहरु तर्सिने, नराम्रा सपना देखेर डराउने, आत्तीने, सुत्न नसक्ने, आदी लक्षण देखा पर्न सक्छ । तसर्थ यस्ता वर्गका मानिसहरुलाई सान्त्वनाm भरोसा र आशा दिलाउने र सामुहिक बसाइमा राख्ने । यदी केही गरी नियन्त्रण हुन सकेन भने अर्थात घटेन भने चिकित्सक वा मनोपरामर्शदाताको सहयोग लिने ।

५) जीवनरक्षक उपचार जस्तै अक्सिजन लिन पर्ने, रगत लिनु पर्ने, डाइलाइसिस गर्नु पर्ने, आदि कार्यबाट सहारा लिइराखेको व्यक्तिहरुको उपचारमा प्राथमिकता दिने ।

६) सामान्य चोट लागेपनि टिटानसको सुई लगाउने, झोल भएको खाना बढी सेवन गर्ने र संक्रमण रोक्ने औषधी सेवन गर्ने ।

७) भूकम्प गइसकेपछिको मौसम विषम हुने भएकोले फ्रिजमा राखिएको पानी, अन्य पेय पदार्थ र अल्कोहल सेवन नगर्ने ।

८) सबैको आफ्नो घर वरिपरि पानी जमेको छ भने यसको कारण मलेरिया, डेंगु, जस्ता रोग फैलिन सक्ने भएकोले जमेको पानी फाल्ने र सरसफाइ गर्ने ।

९) भूकम्पको कारण आफन्त तथा घर सम्पती गुमाउनेहरुको मनोवल कमजोर तथा मनोदशा विकराल हुन सक्छ । साथै तनाव र आक्रोश जन्य पीडाका कारण उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात, जस्ता समस्या आउन सक्छ । तर्सथ त्यस्ता व्यक्तिहरुलाई सबैले सहयोग गर्ने, भरोसा र आड दिने ।

१०) भूकम्प गइसकेपछि सकेसम्म अरुलाई सहयोग गर्नु पर्ने हुन्छ यसको लागि आफू तन्दुरुष्ट हुन र रोग प्रतिरोधकको क्षमता बढाउन अति आवश्यक छ । तर्सथ यस्ता अवस्थामा सागसब्जी, फलफूल, दाल, गेडागुडी, अण्डा तथा प्रशस्त मात्रामा स्वच्छ पानी खाने ।
यी माथि उल्लेखित कुराहरुलाई ध्यान पुर्याएको खण्डमा भूकम्पपछि हुन सक्ने माहामारीबाट बच्न सक्ने संभावना बढी हुन्छ ।
( नाेटः हामी सबैलाई महत्त्वपूर्ण हुने यो महत्पूर्ण टिम्पहरु भूकम्प २०७२ को विहगं दृष्टिबाट लिईएको हो । )