राजनीति

केपी ओलीको समेत भोट बदर भयो भनेर समाचार अाएपछि विराटनगरले थाल्याे मतदाता शिक्षा कार्यक्रम

विराटनगर । नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको समेत भोट बदर भयो भनेर समाचार आईरहेका बेला पुर्बाञ्चलले स्थानीय तहको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा विभिन्न प्रकारका मतदाता शिक्षा कार्यक्रम थालेको छ ।

मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाका साथै प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

ग्रामीण क्षेत्रका जनतालाई नाटकको माध्यमबाट आकर्षित गरी मतदान गर्ने विधिबारे र मतपत्र पट्याउने प्रक्रियाबारे जानकारी गराउने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । यस जिल्लाका १७ वटा निकायमा १८ पटकसम्म ‘जेठ ३१ गते भ्याँउदिन, भोट हाल्न जान्छु’ शीर्षकको नाटक गुरुकुल आरोहणद्वारा नृत्य मञ्चन गरिएको हो ।

करिब आधा घन्टासम्म नृत्य देखाएपछि मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउनेलगायतका विषयमा जानकारी गराइएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराएका छन् ।

सो नृत्य कार्यक्रमप्रति जनतामा आकर्षण देखिएपछि सुनसरीका १२ वटै निकायमा र झापाका तीनवटा निकायमा समेत सो नाटक मञ्चन गरिएको हो ।

यसका साथै सो नाटक सप्तरी र सिरहामा जेठ ३ गतेदेखि ८ गतेसम्म मञ्चन हुने सो कार्यालयका प्रमुख सञ्जेलले जनाए । २०७० सालको संविधानसभाको निर्वाचनमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा अन्य जिल्लाको तुलनामा बढी मत बदर भएकाले ती जिल्लामा बढी ध्यान केन्द्रित गरिएको बताइएको छ ।

जेठ ३१ गते हुन गइरहेको निर्वाचनका लागि जेठ ५ गतेदेखि पुनः जिल्लाको प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम पुनः सुचारु हुने भएको छ । प्रत्येक वडा कार्यालयका प्रमुख मतदाता शिक्षा सुपरीवेक्षकको रुपमा रहेका छन् र जिल्लाका १७ वटा स्थानीय निकायका १५९ वटा वडाका लागि ६४० जना मतदाता शिक्षा कार्यकर्ता खटाउन लागिएको छ ।

प्रथम चरणको निर्वाचनमा काठमाडौँमै करिब १० प्रतिशत मत बदर भएको समाचार प्रसारित भइरहेकाले अब थप बढी सजगताका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको प्रमुख सञ्जेलले जानकारी गराए ।

यसैबीच, रङ्गेलीमा गत आइतबार ‘नमुना मतदान अभ्यास’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । समाजका विभिन्न वर्गका २० जनाले मतदान गरेकामा एउटा पनि मत बदर नभए पनि मतपत्र पट्याउनमा अधिकांशले गल्ती गरेको देखिएको प्रमुख सञ्जेलले जानकारी गराउँदै जेठ ५ गते विराटनगरको गुदरीमा पनि सो अभ्यास कार्यक्रम गर्न लागिएको बताए।