खेलकुद

प्रधानमन्त्रीद्वारा महेश्वर सम्मानित

काठमाडौं । पचासौं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका महेश्वर महर्जनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार सम्मान गरेका छन् । सोही प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक ज्ञानेन्द्र नकर्मीलाई पनि सम्मान गरियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा अखिल नेपाल खेलकुद संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले महेश्वर र नकर्मीलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।
सन् २०१६ को सेप्टेम्बरमा भुटानको थिम्पुमा भएको एसियाली शारीरिक सुगठनको पुरुष ७५ केजी तौलसमूहमा महेश्वरले स्वर्ण जितेका गरेका थिए । एसियाली शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन् ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले खेल क्षेत्रको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान बढाउने धारणा व्यक्त गरे । प्रधानमन्त्री दाहालले खेल क्षेत्रको विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले पदक विजेता महेश्वरलाई १ लाख र प्रशिक्षक नकर्मीलाई ५० हजार नगदबाट पुरस्कृत गर्ने घोषणा गरे ।