राजनीति

काँग्रेस सभापति देउवाले लोकतन्त्र बचाउन यस कारण काँग्रेसलाई भोट दिन आग्रह गरे

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई भोट दिन आम नेपाली जनतालाई अपील गरेका छन् । बुधबार एक अपिल जारी गर्दै काँग्रेसकै नेतृत्वमा मुलुकका महत्वपूर्ण आन्दोलनहरु सफल भए र काँग्रेसकै नेतृत्वमा संबिधान समेत बनेको जानकारी गराउदै काँग्रेसकै नेतृत्वमा संबिधान कार्यान्वयन हुने अवशरलाई बचाउन स्थानीय तहको निर्बाचन सफल बनाउनुपर्ने धारणा राख्दै काँग्रेसलाई सबै महानगर, उपमहानगर, नगर र गाँउहरुमा काँग्रेसका उमेर्द्वारहरुलाई भोट दिएर जिताउन आग्रह गरेका छन् ।

 अपिलमा उनले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो स्थानीय तहको निर्वाचन यही वैशाख ३१ र जेष्ठ ३१ गते गरी दुई चरणमा हुँदैछ । यो ऐतिहासिक उपलब्धि अनायास र हठात आएको होइन, दशकौंसम्मको अविराम लोकतान्त्रिक संघर्ष–यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै आएको हो । हजारौं परिवर्तनकामी र लोकतन्त्रप्रेमी जनता र कार्यकर्ताको अनवरत संघर्ष, त्याग एवं बलिदान अनि त्यसमा नेपाली कांग्रेसको निरन्तर नेतृत्वदायी भूमिका र योगदानका कारण हासिल भएको हो । अत्यन्त कठिन साधना र समर्पणको फलस्वरूप प्राप्त यो उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर यो स्थानीय निर्वाचनले दिएको छ । स्थानीय निर्वाचनमार्फत सामाजिक, आर्थिक पूर्वाधार विकास, सुशासन र स्थानीय समृद्धि प्राप्त गर्न सक्यौं भने तल्लो तहमै लोकतन्त्रको मजबुत आधारशीला बन्नेछ । जसरी नेपाली कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया सफल भई संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी सम्पन्न भयो, त्यसरी नै संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउने राष्ट्रिय महायज्ञमा पनि फेरि एकपटक कांग्रेसकै नेतृत्वदायी भूमिका अपरिहार्य देखिएको छ ।’

देउवाले थपेका छन्, ‘आदरणीय जननेता बी.पी. कोइराला भन्नुहुन्थ्यो– राजनीतिक परिवर्तनलाई दिगो र परिणाममुखी बनाउने भनेकै जनताको समग्र सामाजिक–आर्थिक रूपान्तरणबाट हो र त्यसका निम्ति लोकतन्त्र संस्थागत र सुदृढ हुन आवश्यक छ । राजनीतिक परिवर्तनले मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिँदैन । सस्थागत लोकतन्त्रमार्फत पूँजीको विकास, सामाजिक सुरक्षा एवं बीमा र पूँजीको उत्पादनशील र समावेशी एवं न्यायपूर्ण वितरणबाटै समाजवादले परिकल्पना गरेको समृद्ध र बलियो समुदाय निर्माण हुनेछ । आसन्न स्थानीय निर्वाचनले यसका निम्ति मार्गप्रशस्त गर्नेछ । यो एउटा यस्तो अमूल्य अवसर हो, जसको सदुपयोगसँग नेपाली कांग्रेसको मात्र हैन, देशको भविष्य पनि जोडिएको छ ।’

इतिहासलाई समेत सभापति देउवाले यसरी जोडेका छन्, ‘इतिहास साक्षी छ– नेपाली कांगे्रसकै नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र राजनीतिक आन्दोलन र अभियान सम्पन्न भएका छन् । २००७ सालदेखि हालसम्मको लामो समय–श्रृखंलामा जनताको पक्षमा कुनै एउटा पनि त्यस्तो परिवर्तन भएको छैन, जहाँ कांग्रेसको निर्णायक संलग्नता नरहेको होस् । अब हिमाल, पहाड र तराई–मधेशलाई एक सूत्रमा जोड्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्ने बेला आएको छ । यस निम्ति एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमान्दार अठोट, सूचना–ज्ञान र प्रविधिले सुसज्जित प्रतिबद्ध जनशक्ति र राजनीतिक एवं शासकीय सुस्थिरतासहितको अनुकूल वातावरण हुन अति आवश्यक छ । यस्तो वातावरणले लगानी बढाउनेछ र स्वदेशमै थुप्रै रोजगारीका अवसर सिर्जना गर्नेछ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गर्न सकियो भने युवालाई स्वदेशमै रोजगारी र स्वरोजगारीका अवसरको सिर्जना हुनेछ । स्थानीय प्राकृतिक स्रोतको समावेशी, समुचित र दिगो परिचालनमार्फत गाउँ नगरको अर्थतन्त्रमा गतिशीलता ल्याउने स्थानीय सरकार— नेपाली कांग्रसले मात्रै दिनसक्छ । नेपालको जुनसुकै भू–भागमा बसोबास गरेका, सबै जातजाति, धर्म, वर्ण, लिङ्ग, विभिन्न समुदायका नागरिक हाम्रो मुलुकको वृहद् परिवारका सदस्य हुन् । यी सबैको सहकार्यबाट मात्र मुलुक समृद्धि तर्फ अगाडि बढ्न सक्दछ । समाजको आपसी सद्भाव, मेलमिलाप, एक अर्का प्रतिको सम्मान र सहयोगले मात्र समग्र देशको भलो हुन सक्दछ । स्थानीय निर्वाचनमा कांग्रेसको सफलता हरेक क्षेत्र, तह, समुदाय र वर्गका जनताको स्वाभिमान र उज्यालो भविष्यसँग गाँसिएको छ । कांग्रेसको नेतृत्व, निर्णायक भूमिका र योगदान विना नेपालमा न राजनीतिक परिवर्तन एवं आर्थिक–सामाजिक रूपान्तरण नै सम्भव थियो, न अहिले नै छ, न त भविष्यमै हुनेछ, । यो कांग्रेसको विश्वास मात्र होइन, इतिहास सिद्ध यथार्थ हो ।’

निर्बाचनलाई यसरी लिएका छन्, ‘यो निर्वाचनले सिंहदरबारबाट शासन तथा विकास–निर्माण गर्ने सबैजसो अधिकार तराई–मधेशदेखि हिमालसम्मका गाउँ नगरसम्म पु¥याउने एउटा अभुतपूर्व अवसर प्रदान गर्नेछ । यसबाट हाम्रा स्थानीय तहका एकाइहरू आर्थिक समृद्धि र सामाजिक न्यायका जगमा आधारभूत रूपमै स्वशासित र स्वायत्त हुने छन् । २००७ सालदेखि नै विकेन्द्रीकरण र स्वशासनका पक्षमा खुलेर आवाज उठाउँदै आएको नेपाली कांग्रेसका लागि यो भन्दा खुसीको कुरा अरु के हुन सक्ला ? अब स्थानीय तहमा उपलब्ध अवसर एवं स्रोत–साधनको अधिकतम परिचालन गर्दै संघ र प्रदेशको समन्यायिक सहयोग र समन्वयमा विशेषगरी युवा पुस्ताको सिर्जनशीलता, उद्यमशीलता, रोजगारी र आयआर्जनका माध्यमबाट आर्थिक समुन्नति हासिल गर्नेतर्फ हाम्रा स्थानीय सरकार क्रियाशील हुनेछन् । लोकतन्त्र सुदृढ हुनेछ र स्थानीय सुशासनले एउटा स्पष्ट आकार ग्रहण गर्नेछ ।’

अन्तमा देउवाले यसरी बीट मारेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली कांग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन गर्ने अवसर पनि यो स्थानीय निर्वाचनले दिएको छ । अबको स्थानीय आर्थिक–सामाजिक र सुसंस्कारयुक्त राजनीतिक बागडोर सम्हाल्ने जिम्मा तपाईहरूको हातमा छ । नेपाली कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएका विषय एक आपसमा पढी–पढाइ, सुनी–सुनाइ कांग्रेसका पक्षमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउनु हुन हार्दिक अपील गर्दछु । ‘

शेरबहादुर देउवाकाे अपील