अन्तर्राष्ट्रिय

मेक्सिकोमा पटाका भण्डारमा विस्फोट हुँदा चौध जनाको मृत्यु

एजेन्सी । मेक्सिकोमा एउटा पटाका भण्डार केन्द्रमा विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएको यहाँका अधिकारीले मङ्गलबार जनाएका छन् । प्वेब्ला राज्यको वरिष्ठ अधिकारी डियोडोरो कारास्कोले स्थानीय सिन्को रेडियोलाई दिएको जानकारी अनुसार सोमबार राति विस्फोट भएको र मृतकमध्ये ११ जना बालबालिका रहेका छन् । यद्यपि यही मे १५ मा मनाइने धार्मिक उत्सवलाई मध्यनजर गरी ठूलो पैमानमा पटाका भण्डारण गरिएको बेला विस्फोट भएको छ ।

केही मानिस भण्डार केन्द्रभित्रै बस्ने गरेकाले ठूलो सङ्ख्यामा मानवीय क्षति हुन पुगेको बताइएको छ ।

सरकारी स्रोतले पटाका भण्डार भवनमा बाहिर कतैबाट आएको रकेट (पटाका) विस्फोटपछि सो घटना भएको बताइएको छ ।

सन् २०१६ को डिसेम्बरमा पनि यस्तै पटाका विस्फोटको घटनामा मेक्सिको सहरको टुल्टेपेक क्षेत्रमा ४२ जनाको मृत्यु भएको थियो भने ७० जनाभन्दा बढी घाइते भएका थिए ।