मनोरञ्जन

खद्धामा (Housemaid)

बर्षौँ देखि खाडीमा
 खब्बुसको प्याकेट
 भन्दा पनि
 दर्बिलो गरि बाँधिएको
 यो शेखको घरमा
 जब म
 महसुस गरिरहेकीछु
 मेरो धारिलो भविष्य ।

मेरा सन्ततीकै खातिर
अर्जापी रहेको
मरो भाग्यको खुर्पा
एकाएक भुत्तिएर
कामै नलाग्ने भएको छ,
मेरा रहर र सपनाहरु
जलेर खाक
बनिसकेका छन् ।

मेरो सानो भुन्टे
एउटा चकलेटको पर्खाईमा
बर्षौं देखि
डुलाई रहँदो हो
ति कलिला नयनहरु
आँगनीको डिलतिर ।
अनि कोही स्त्रीको
छायालाई हेरेर
भन्दो हो
ऊ मेरो
…..आमा आउनु भयो !
…..आमा आउनु भयो !

म बन्धक भएको
धेरै समय पछि
गुँहारिरहेकी छु पत्रकारलाई
पत्रिकाको पहिलो पेजमा,
टेलिभिजनको मुख्य समाचारमा
अनि रेडियोको हाइलाइट खबरमा
मेरो जीवन
बचाउँको खबरको निम्ति ।
र म पुकारी रहेछु
एउटा कविलाई
मेरो दुखको
कथा लेखिदिन ।

यो सन्देश प्रवाह गरिरहँदा
म जस्तै फूलमायाहरुलाई
आव्हान गरिरहेछु
कुनै शेखको घरमा
मेरा जस्तै
अन्ठाउन्नौँ वसन्त
व्यथित नगर्न,
अनि सरकारलाई रेमिट्यान्सको
चुलि नबढाउन
र हरेक मिडियालाई
आर्थिक समाचारको
छाति फुलाउने
औजार नबनाउन ।