खेलकुद

सुरु भयो दक्षिण एसियाली योगा च्याम्पियनसिप

काठमाडौं । नेपाल योग खेलकुद संघको आयोजनामा प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिप सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले युवा र खेलकुदलाई जोडेर योगाको कार्यक्रम अगाडि बढाउने मन्त्रालयको सोच रहेको बताए ।

खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दहालले योगाको उपलब्धिबारे चर्चा गरेका थिए । विश्व योगा खेलकुद महासंघकी अध्यक्ष राजश्री चौधरीले मानिसलाई तन्दुरुस्त राख्न र स्वच्छ विचार जगाउन योग उपयोगी माध्यम भएको धारणा व्यक्त गरिन् । आयोजक योग खेलकुद संघका अध्यक्ष प्रा.डा.सूर्यबहादुर कार्कीले स्थापनाको छोटो अवधिमा संघ च्याम्पियनसिप गराउन सफल भएको बताउदै सहयोगी सबैलाई धन्यवाद दिए ।

प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धी सहभागी छन् । ८ देखि १२, १२ देखि १४, १४ देखि १८ र १८ देखि ३५ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा भइरहेको छ । ३५ स्वर्ण तथा उत्तिनै रजत र कांस्य गरी जम्मा १ सय ५ पदकका प्रतिस्पर्धा हुनेछ । एसियामै पहिलो पटक योगाको च्याम्पियनसिप भएको आयोजक योग खेलकुद संघका महासचिव चूडामणि खरेलले जनाएका छन् ।