पु.समाचार

निर्बाचन आयोगले ल्यायो कलसेन्टर र मोवाइल एप्प

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजदेखि कलसेन्टर र मोवाइल एप्प संचालनमा ल्याएको छ । आयोगमा आज आयोजित कार्यक्रममा माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले कलसेन्ट र मोवाइल एप्पको संचालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचन सम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर संचालनमा ल्याइएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आयोगले संचालनमा ल्याएको मोवाइल एप्पबाट मोवाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदान स्थल र केन्द्रको जानकारी, उम्मेद्वारको विवतरण, मत परिणाम लगायतका विभिन्न १० विषयमा जानकारी पाउन सक्ने बताएका छन् ।

उनले आयोगले संचालनमा ल्याएको कलसेन्टर र मोवाइल एप्पको प्रभावकारी संचालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीहरुलाई निर्देशन दिए ।

निवार्चन आयोगका सूचना प्रविधि महाशाखा प्रमुख एवं सहसचिव लक्ष्मिप्रसाद यादवले आयोगले संचालनमा ल्याएको एप्पबाट निर्वाचन सम्बन्धी जानकारीहरु नेपाली र अंग्रेजी दुवै भाषामा सरलरुपमा पाउन सकिने बताए ।

स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोवाइल एप्प सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा संचालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाहरुका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्वरबाट तत्काल प्राप्त हुने छ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्वरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।

कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म विहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने छ । इसीएन एप्प आयोगको वेभसाइट www.election.gov.np वा Android मोवाइलको प्लेस्टोर वा एप्पल मोवाइलको एप्प स्टोरबाट डाउन गरी इन्स्टल गर्न सकिने आयोगले जनाएको छ ।