खेलकुद

जितेन्द्र परियार फाइनलमा

काठमाडौं । जितेन्द्र परियार पाँचौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
जितेन्द्रले तेश्रो एवं निर्णायक सेटमा प्रणव खनाललाई ६–३ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । बुधबारै सुरु भएको यि दुईबीचको सेमिफाइनल १–१ सेटको बराबरी अवस्थामा रहेका बेला समय अभावका कारण रोकिएको थियो । त्यसमा जितेन्द्रले पहिलो सेट ७–५ ले जितेका थिए भने दोश्रो सेटमा ३–६ ले पछि परेका थिए । अब फाइनलमा पूर्व विजेता जितेन्द्रले डिफेन्डिङ च्याम्पियन संरक्षकभूषण वज्राचार्यको सामना गर्नेछन् ।
जितेन्द्रले डबल्समा भने कुमार अधिकारीसंग मिलेर उपाधि नै जिते । उक्त जोडीले फाइनलमा सन्तोष खत्री र दावा शेर्पालाई ६–३ र ६–३ को सोझो सेटमा हराए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायेजनमा काठमाडौं जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा दीपकमान श्रेष्ठ च्याम्पियन बने । उनले फाइनलमा ज्ञानेन्द्र ताम्राकारलाई ४–२ र ४–१ ले पन्छाए ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठले निरज थापालाई ६–२ र ६–३ तथा कमल भण्डारीले राजु श्रेष्ठलाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा मनोज शाहले समिर शेरचनलाई ६–० र ६–२ तथा प्रदीप शाहले प्रताप मोक्तानलाई ६–२, ३–६ र १०–५ ले निराश पार्दै फाइनल यात्रा तय गरे ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप तथा पृथ्वी गुरुङ र राजेन्द्र गैरेको जोडी उपाधिका लागि भिड्ने छन् । सेमिफाइनलमा उक्त जोडीले क्रमशः कर्म घले र पृथ्वी थाकालीको जोडीलाई ६–३ र ६–२ तथा सहदेव ढुंगाना र ध्रुव गुरुङको जोडीलाई ६–० र ६–४ को सीधा सेटमा हराए ।

मिक्स डबल्समा श्रीराम मगर र इरा रावतको जोडीले गंगा शर्मा र शक्ति शर्माको जोडीलाई ६–३ र ६–२ तथा संरक्षकभूषण वज्राचार्य र मायांका राणाको जोडीले नवीन पुन र प्रेरणा कोइरालाको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा हराउदै फाइनलमा पुगे । भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज लामाले दिलिप सिंहलाई ६–२ र ६–१ तथा प्रदीप शाहले ध्रुव गुरुङलाई ६–४ र ६–३ को सोझो सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।