पु.समाचार

डा. भट्टराईले भने प्रचण्ड कंश हुन्, निर्बाचन चिन्ह नपाए बिथोल्छु

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक बावुराम भट्टराईले चुनाव चिन्ह नपाए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

पार्टीले शनिबार पालुङटारमा आयोजना गरेको जनसभामा बोल्दै उनले चिन्ह प्राप्तिका लागि संघर्ष गर्ने बताए । ‘चुनाव लड्छु भन्दा भन्दै चिन्ह नदिएर निर्दलीय पञ्चायती व्यवस्था ल्याउन खोजियो’, उनले भने, ‘चुनावको पक्षमा छौं, चिन्ह पाएपछि सहभागी हुनेछौं ।’

चुनाव जितेर नयाँ शक्ति पार्टी सत्तामा पुगिछाड्ने उनको दाबी थियो । ‘चुनाव जसरी पनि गर्नुपर्छ, तर सत्ताधारीहरुले सार्न खोजिरहेका छन’, उनले कार्यकर्ताहरुलाई भने, ‘चुनावको तयारीमा जुट्नु होस ।’

नयाँ शक्तिले तराई, पहाड र हिमाल जोडेर राष्ट्रियता जोगाउने भट्टराईले बताए । ‘नयाँ शक्ति चुनाव जितेर देशलाई समृद्ध बनाउने लिगलिगे दौडमा छ’, उनले भने, ‘प्रचण्ड, शेरबहादुर देउवा र केपी ओलीले सत्ताको खेल छाडून् ।’

कान्तिपुरका अनुसार, पार्टी निर्वाचन आयोगमा दर्ता भएर पनि चुनाव चिन्ह नदिएको प्रति उनले आक्रोश व्यक्त गरे । ‘भगवान कृष्णको विरुद्ध कंशहरुको हर्कत सुरु भएको छ, प्रचण्ड कंश भए’, उनले भने । सत्ताको दुरुपयोग गरेर चुनाव चिन्ह नदिएको उनको भनाई थियो ।

जनसभामा पार्टीका केन्द्रिय नेताहरु देवी ओझा, पासाङ शेर्पा, गंगा चौधरी लगायतले पनि मन्तव्य राखेका थिए ।