विचार/ब्लग

लण्डन बस्ने राजेश भन्छन्, ज्ञानेन्द्र कार्कीका बुवा स्व.कृष्णमोहन भोजपुरकै अभिभावक हुनुहुन्थ्यो

कान्छा मुखिया अर्थात् स्वर्गीय कृष्णमोहन कार्की एक सचेत प्रजातन्त्रबादी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब जलश्रोत मन्त्री अथवा नेविसंघका पुर्ब केन्द्री अध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीका पिता वा समाजशास्त्रका  डा. मृगेन्द्र बहादुर कार्की अथवा मिलनसार सामाजिक व्यक्तित्व देबेन्द्र कार्की, तेजेन्द्र कार्की वा नायक लोकेन्द्र कार्कीका पिताको नाताले चिनु भन्दा पनि उहाँकै व्यक्तित्वबाट उहाँलाई सम्झनु उत्तम हुन्छ भन्ने मलाई लाग्दछ ।

मैले उहाँको मृत्युको खबर सामाजिक सञ्जालहरुमा देखेपछि मेरो मष्तिस्क एकाएक २०४६ सालको फाल्गुन महिनाको एउटा दृश्य तर्फ धकेलियो । त्यो दृश्य थियो । उहाँलाई हाम्रो आखा अगाढीबाट पुलिसले गिरफ्तार गरेर लागेको, त्यतिबेला हाम्रो देउराली गाउ पंचायतको प्रधानपञ्च स्वर्गीय तिलबहादुर किराती हुनुहुन्थियो । पंचायत कार्यालय तीन धारे डाँडामा थियो, प्रधान पञ्च स्वर्गीय तिलबहादुर किराँतीले श्री ५ त्रिभुवन तथा प्रजातन्त्र दिवस मनाउने कार्यक्रम त्यहि कार्यालयमा राख्नु भएको थियो । हामी सबै पंचायत भवनमा भेला भएका थियौँं ।

दिङ्गला प्रहरी चौकीबाट केहि प्रहरी पनि त्यहाँ आएका थिए, उक्त कार्यक्रम सकिएपछि पुलिसले कृष्णमोहन कार्की लगायतका केहि मानिसहरुलाई गिरफ्तार गरेर लग्यो, मैले उहाँहरुलाई पुलिसले किन गिरफ्तार गरेर लागेको भनेर केहि जान्ने बुझ्नेहरुलाई सोधेको थिँए, एकजनाले यताउता हेरेर बिस्तारै मेरो कानमा भन्नु भएको थियो ।

कांग्रेस र कम्युनिष्टहरुले चलाएको पंचायत व्यवस्था बिरोधि काममा सहयोग गरेकोले पुलिसले लगेको भनेर जबाफ दिएका थिए । उहाँले ४६ सालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेस, कम्युनिस्टलार्इ कसरी के सहयोग पुर्याउनु भयो, त्यो मलाई थाहाहुने कुरा भएन तर प्रजातन्त्र आएपछि मेरो गाउमा पहिलो पटक नेपाली कांग्रेसको झन्डा उहाँकै घरमा गाडेको मैले देखेको थिंएँ । प्रजातान्त्रिक व्यवस्थाका बारेमा उहासंग उच्च ज्ञान थियो । उहाँको मुखबाट मैले प्रजातान्त्रिक मूल्यमान्यताका बिषयमा धेरै कुरा बुझ्ने मौका पाएको थिएँ उहाले भनेका धेरै बाक्यहरु मध्ये एउटा बाक्य मलाई अहिले पनि थाहा छ ‘बेलायतको जस्तो प्रजातन्त्र’ अर्थात् प्रजातन्त्रको उदाहरण दिदा संयुक्त राज्य बेलायतको प्रजातन्त्रको कुरा उहाँ गर्नु हुन्थ्यो ।  । कम्युनिष्ट पार्टीको अन्तिम लक्ष्य अधिनायकबाद हो, त्यसैले कम्युनिष्टहरुलाई प्रजातन्त्रबादी भन्न सकिदैन भन्नु हुन्थ्यो । मैले धेरै चोटी उहाँको मुखबाट ‘बेलायतको जस्तो प्रजातन्त्र’ भनेको सुने पनि उसबेला त्यसको अर्थ मलाई थाहा थिएन तर अहिले बेलायतमै आए पछि भने मैले यसको अर्थ र महत्व थाहा पाएको छु ।

स्वर्गीय कृष्णमोहन कार्की मेरो नाताले हजुरबा हुनुहुन्थ्यो । मेरो हजुरआमा त्यहि गाउँको सुतार कार्कीको छोरी हुनु भएकोले सुतार कार्की मेरा मामली खलक हुनुहुन्छ । कृष्णमोहन कार्कीको पुरै परिवार राजनैतिक परिवारको रुपमै चिनिन्छ । उहााको दाजु स्वर्गीय हर्कबहादुर कार्की पनि ठुलो राजनीतिज्ञ हुन्थ्यो  ।

उहाँले २०१५ सालको आम निर्वाचनमा संसद सदस्यको लागि गोर्खा परिषदबाट चुनाब लड्नु भएको कुरा उहाकै भाई स्वर्गीय भक्तबहादुर कार्कीले मलाई सुनाउनु भएको थियो । मैले मेरो गाउँमा आदर र सम्मान गर्ने व्यक्तिहरु मध्ये उहाहरु पहिलो स्थानमा पर्नु हुन्थ्यो  । किन भने कृष्णमोहन कार्की गाउँको विकास–प्रेमी असल नागरिक हुनुहुन्थ्यो  । गाउँमा तेल पेल्ने, धान कुट्ने मिल राखिदिएर गाउँलेहरुलाई सजिलो बनाई दिनु भएको थियो त्यो बेला जुनबला पञ्चायत थियो । उहाले गाउँको शिक्षाको लागि पनि योगदान गर्नु भएको थियो ।

उहाँहरुको परिवार गाउँको अभिभाभक परिवारको रुपमा रहेको थियो । हाम्रो गाउँ सबै जातीको संगम थलो हो । खस, आर्य, शिपी र किरात जातीहरु मिलेर बसेको ठाउँ हो गैरी गाउँ तर सबैको अभिभावक चाहीँ उहाहरु नै हुनुहुन्थ्यो । दशैंको नवमीका दिन बढो धुमधामका साथ मार हान्ने चलन गाउामा हुन्थ्यो । हुन त अहिले पनि मार हान्ने चलन छ गाउघरमा तर पहिलाको जस्तो हुदैन, यो मार हान्ने काम गाउँका सबै बुढापाका, युवा, केटाकेटी भेला भएर कट्टी, तरबार सहित प्रत्यकको घर-घरमा गएर सम्पन्न गरिन्थियो । मारको शुरुवात चाहीँ सबैले मान्ने गुन्ने व्यक्तिको घरबाट शुरु गर्ने चलन थियो । हाम्रो गाउंमा यो घर चाही उहाहरुकै थियो अर्थात् पहिलो मार उहाँहरुको घरबाट हुन्थ्यो । हाम्रो गाउँमा सुतार कार्कीहरुको संख्या अरु जातीको भन्दा बढी छ । त्यसैले सुतार कार्कीको देवाली प्रत्येक तीन–तीन बर्षमा हामै गाउँमा गर्ने चलन छ ।

देवाली भनेको मष्ट देवताको पुजा हो । खसहरुका दारे र दुधे दुइ प्रकारका मष्ट हुन्छन् । कुलका धमीमा देउता चढे पछि धामीले आफ्नो दाँतले पाठो वा पाठी काटेर भोग खाने देउतालाई दारे मष्ट भनिन्छ भने दुध र खीर चढाएर पुजा गर्ने मष्टलाइ दुधे मष्ट भनिन्छ । सुतार कार्कीले पनि दारे मष्टकै पुजा गर्छन । हाम्रो गाउँमा सुतार कार्कीले पुज्ने मष्ट देउता राख्ने घर पनि उहााहरुकै घर थियो । देवालीको दिन बाजागाजा सहित उहाँहरुकै घरबाट देउता निकालेर देवाली गर्ने ठाउँमा लगिन्थियो । देउता निकाल्ने बेला गाउँभरीका मानिसहरु उहाँहरुको घरमा भेला हुन्थे । हामी सबै त्यो दृश्य हेर्न उहाँहरुको घरमा जान्थ्यौं ।

देवालीको कुरा गर्दा उहाको दाजु हर्कबहादुर कार्कीको जीबनमा घटेको एउटा घटनाको कुरा गाउँमा हुन्थ्यो । हर्कबहादुर कार्कीको ससुराली धनकुटाका लामा कार्की । लामा कार्कीको देवालीको दिन देवाली नसकिउन्जेल अरु कुनै पनि जातीलाई घर भित्र पस्न बन्देज गरिन्छ । उहाँ ससुरालीमा देवाली मान्न बिहानै पुग्नु भएछ । उहाँ ससुराली पुग्दा ससुरा बुवा घरको माथी तलामा पूजा गर्दै हुनुहुन्थ्यो रे । ससुराबालाई घरमा नयाँ मान्छे आएर घरमा बसेको खबर सुनाईदिएछन् ।

त्यो खबर सुने पछि ससुराबाले माथील्लो तलाबाट भन्नु भएछ, ‘को हो देवालीको दिन घर भित्र पस्ने ?’ निकालिदे घरबाट भन्ने आदेश भएछ । त्यो कुरा उहाँले आफ्नै कानले सुने पछि ससुरालीबाट फनक्कै फर्किएर घर आउनु भएछ । धनकुटाबाट घर आउदा कोशीको घाट तर्नु पथ्र्यो । उहाँले उक्त घाट त्यो दिनको लागि सबैलाइ फ्री गर्दिनु भएको कथा गाउका बुढापाकाहरुले सुनाउनु हुन्थियो, अरुबेला सार्बसाधारणले आफैं पैसा तिर्नुपर्ने भएपनि उक्त दिन सित्तैमा ब्यबस्था मिलाईदिनुभएको कुराबाट उहाहरुले सबै गाउलेहरुको अबिभाबकत्व निर्बाह गर्नु भएको थियो भन्ने बुझिन्छ ।

पछिल्लो समयमा उहाँ भोजपुरको उक्त गाउँबाट काठमाडौँ स्थानान्तर हुनुभएको थियो । जीवनको उत्तरार्धमा छोराहरुसंग उहाँ ललीतपुरको भैसीपाटीमा ऐस, आरामसंग बस्तै आउनु भएको थियो तर गाउँले दाजु–भाइको अभिभाबकत्व गुमाउनु परेकोमा उहाँ दुखि हुनुभएको भन्ने सुनिन्थ्यो ।

एक दिन मेरो मित्र बाबुराम राई उहाँलाई भेट्न उहाँको निवास भैसेपाटी जानु भएको रहेछ, भेटमा उहाँले भन्नु भएछ  ‘मलाई यहाँ कुनै चिजको कमि छैन तर म यहाँ एक्लो जस्तो छु, कान्छा मुखिया भनेर बोलाउने छिमेकीहरुको यादले आफुलाई सधै सताउछ’

मैले जान्दा हाम्रो गाउँमा उपल्लो स्तरका सबै कार्कीहरुको घरमा घोडा पालेको हुन्थ्यो । भोजपुर गैरी गाउँका कार्कीहरुलाई घोडाका शोखिन मुखियाहरु भन्ने उपमा नै वरपरकाले दिएका थिए । हुन पनि सबै कार्की मुखियाहरुकोमा घोडा पालेको हुन्थ्यो । स्वर्गीय बालकृष्ण कार्कीको बुवा जमदार बा घोडा चढेर नै हिड्नु हुन्थियो रे । बालकृष्ण कार्कीको त पछि सम्म पनि घरमा घोडा थियो, मैलेपनि देखेको थिए . । सहदेब कार्कीको हजुरबा नरेन्द्र बहादुर कार्की घोडा नै चढेर हिड्नु हुन्थ्यो ।

प्रायःमानिसहरु आखा जुधाएर नरेन्द्र बहादुर कार्कीसंग बोल्न सक्दैनथिए रे । तर म चाँही सानो भएकोले उहाँसँग गोठालोसंगै जान्थें । टेक बहादुर कार्कीले पनि घरमा घोडा पाल्नु भएको थियो । तोत्रबहादुर कार्कीको पनि घोडा थियो । डम्बर कार्कीको बुवा भक्त बहादुर कार्कीको पनि घरमा घोडा थियो । ढोकल बहादुर कार्की चढ्ने घोडाहरु त धेरै नामी हुन्थे । सायद उहाँले चढने घोडाहरु टुर्किस घोडा हुनु पर्छ संसारमा चलेका दुई घोडामध्ये राम्रो घोडम हो, किनभने आइरिस र टुर्किस घोडाहरु निकै नामुद मानिन्छ । तर स्वर्गीय कृष्णमोहन कार्कीले भने घोडा चढेर हिडेको मैले जीबनमा देखिन । उहाँहरुको पालामा घोडा चढेर हिड्नेहरु प्रति समाजको हेर्ने दृष्टिकोण नै फरक हुन्थियो । प्रतिष्ठित मानिसहरुले मात्र घोडा चढेर हिड्न सक्थे तर उहाँले भने घोडा चढ्नु भएन । यस बारेमा उहाँसंग सोध्ने मेरो विचार थियो तर त्यो दिन मलाइ जुरेन ।

हालै उहाले ८६ बर्षको उमेरमा देहत्याग गर्नुभयो । यो बर्ष मेरो गाउँले धेरै अनुहारहरु गुमायो । जीबनमा धेरै नरनाता, इष्ट मित्र, साथी भाईलाइ गुमाइयो तर यसपटक भने मेरो गाउले अर्थात् मेरो प्यारो गैरी गाउँ र पुरै भोजपुर जिल्लाले सधैँ सफा लुगामा देखिने सारै सभ्य, मृदु भाषी र योग्य व्यक्तित्व अब सदाको लागि गुमाएको छ । यस दु:खद घडीमा गाउँकै हजुरबा कृष्णमोहन कार्कीको देहान्तमा हामी ले अभिभावकबिहीन भएको महशुश गरेका छौं ।

अबका घडीमा, उहाँका छोराहरुले उक्त अभिभावकत्व ग्रहण गर्न सक्नुहोस भन्ने  मलाई लाग्दछ। जेठो छोरा ज्ञानेन्द्र बाहादुर कार्की नेपाली कांग्रेसका प्रभाबशाली नेता हुनुहुन्छ, यो अभिभावकत्व वहाँबाट प्राप्त हुने सम्भाबना देखिन्छ ।  स्व.कृष्णमोहन कार्कीको आशीर्बादले ज्ञानेन्द्र बाहदुर कार्की लगायत सपरिवारलाई लागोस, हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु ।

-टेकबाहादुर थापा (राजेश)