आर्थिक

यसरी राजनीतिक तथा कर्मचारीको मिलेमतोमा चन्द्रागिरिले करोडौं कर छलि गर्यो, कारबाही गर्नुपर्ने माग

काठमाण्डौ । अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मुल्यमा जग्गा भाडामा लिन सफल चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले औल्याएको छ ।

महालेखा परिक्षकको कार्यालयले बुधवार राष्ट्रपति कार्यालयमा बुझाएको ५४ औं वार्षिक प्रतिवेदनमा चन्द्रागिरी केबुलकारबारे ‘व्यवसायीलाई छुट तथा सुविधा’ शिर्षकमा जग्गा भाडा प्रक्रिया र भन्सार छुटको विषय उठाउदै छानविन गर्नुपर्ने निर्णय गरेको हो ।

‘केबुलकार व्यवसायीलाई कम दरमा जग्गा लिजमा दिने र ठूलो मात्रामा राजस्व छुट दिने कार्यले राज्यलाई नोक्सानी भएको छ’ ५ प्याराग्राफमा चन्द्रागिरी केवलकारमा भएको अनियमितताबारे बिष्लेषण गरि निकालिएको निष्कर्षमा प्रतिवेदनमा भनिएको छ, ‘यस सम्बन्धमा आवश्यक छानबिन गरिनुपर्दछ ।’

प्रतिवेदन अनुसार चन्द्रागिरि डाँडाको ३६ हेक्टर वन क्षेत्रमा केवुलकार निर्माण गर्न प्रति हेक्टर ५ हजार रुपैयाका दरले प्रतिवर्ष १ लाख ८० हजार रुपैयाँ दस्तुर प्राप्त गर्ने गरी लिजमा दिएको हो । ‘सो अनुसार उक्त जग्गाको दस्तुर प्रति वर्ष प्रति रोपनी २ सय ५३ रुपैयाँ ८० पैसा पर्ने देखिन्छ ।

६ हजार ४ सय ७ रुपैयाँ २७ पैसाका दरले लिजमा उपलब्ध गराएको हुंदा गोकर्ण वन क्षेत्रको जग्गाको तुलनामा पनि चन्द्रागिरीको वनक्षेत्रको उपयोग गर्न दिए बापत राज्यले प्राप्त गर्ने रकम प्रति रोपनी ६ हजार १ सय ५३ रुपैया ४७ पैसाका दरले ३६ हेक्टरको प्रति वर्ष ४३ लाख ६४ हजार घटी हुन आउछ ।’ वन नियमावली अनुसार प्रस्ताव आव्हान गरी प्रतिस्पर्धा गराएर मात्र वन क्षेत्र लिजमा दिनुपर्ने धारणा महालेखापरिक्षकको कार्यालयको छ ।

‘उक्त व्यवसायीलाई ३६ हेक्टर वन क्षेत्र उपलब्ध गराएको मध्ये मन्त्रिपरिषद्ले ५ हेक्टरमा मात्र भौतिक संरचना निर्माण गर्न स्वीकृति दिएकोमा ५ दशमलब ८६ हेक्टरमा संरचना निर्माण गरेको व्यहोरा जिल्ला वन कार्यालयको निरीक्षण प्रतिवेदनमा उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ, ‘वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा वन्यजन्तुको वासस्थान एवं आहार विहारमा पर्ने असर न्यूनीकरण गर्न शर्त राखेकोमा उक्त शर्तको सम्बोधन गरेको पाइएन । साथै स्थलगत निरीक्षण गर्दा निर्माणाधीन संरचनाबाट निश्किएका ढुंगा, माटो वातावरण मैत्री रुपमा व्यवस्थापन गरेको पनि छैन ।’

चन्द्रागिरि डाँडामा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबाट केबुलकार, मन्दिर, पौडी पोखरी, रिसोर्ट आदि निर्माण गर्न कम्पनीलाई स्वीकृति दिएको हो । कान्तिपुर दैनिकका अनुसार परम्परागत मन्दिर क्षेत्रको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यता विपरीत परापूर्वकालीन भालेश्वर शक्तिपीठसागै अर्को मन्दिर निर्माण भएको प्रतिवेदनमा भनिएको छ । ‘त्यस क्षेत्रको मौलिक सांस्कृतिक एवं धार्मिक क्षेत्रमा पर्ने असरको विश्लेषण नभएको एवं पुरातत्व विभागबाट स्वीकृति समेत लिएको देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।

भन्सार महसुल छुट दिएकोमा पनि महालेखापरिक्षकको कार्यालयको आपत्ति छ । ‘आर्थिक ऐन, २०७१ को दफा १४९३० ट र १४ ९३० ग मा केवुलकार निर्माण गर्ने उद्योगले निर्माण कार्यका निमित्त आवश्यक पर्ने शीर्षक ७३ अन्तर्गतको तयारी क्याव वा क्याव निर्माण गर्न आवश्यक पर्ने स्टिल पाता पैठारी गर्दा भन्सार महसुलमा पचास प्रतिशत छुट दिने व्यवस्था छ । साथै भन्सार दरबन्दी उपशीर्षक ७३०८२ मा पर्ने टावर र ल्याटिस माष्टमा २० प्रतिशत भन्सार महसुल तथा १३ प्रतिशत मूल्य अभिबृद्धि कर लगाई जाँचपास गर्नुपर्ने व्यवस्था छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गतवर्ष एक केबलकार सञ्चालकले भाग ७३ मा पर्ने ३० करोड ८४ लाख मूल्यका स्टिल तथा फलामका पाता एवं पोलहरु पैठारी गर्दा मेसिनरी मानेर बैङ्क ग्यारेन्टीको सुविधा प्रदान गरी दरबन्दीअनुसार लाग्ने भन्सार महसुल र मूल्य अभिबृद्धि कर असुल नगरेबाट घटी भएको राजस्व ६ करोड २६ लाख सम्बन्धित व्यवसायीबाट असुल गर्नुपर्दछ ।’

उक्त रकम अर्थ मन्त्रालयको नाममा बेरुजु देखाइएको छ । उक्त आधारमा सरकारले अब ६ करोड २६ लाख रुपैयाँ सरकारले चन्द्रागिरी केवलकारबाट असुल गर्नुपर्ने देखिन्छ । पुर्व अर्थमन्त्री रामशरण महतको पालामा चन्द्रागिरी केवलकारलाई भन्सार तथा विभिन्न छुट दिइएको हो ।

उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा सरकारले चन्द्रागिरी केवलकार निर्माणमा मनपरि गरेको हो । न्यून मुल्यमा जग्गा पाएको चन्द्रागिरीले जथाभावि संरचना बनाएको भन्दै आलोचना भएको छ । संसदको वातावरण समिति र उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले समेत छानविन गरि कम्पनी तथा सरकारका निकायहरुलाई निर्देशन दिएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनले उक्त दुरुपयोगलाई थप पुष्टि गरिदिएको हो ।