आर्थिक

गुरुङद्वारा ९० करोड लगानीको दैनिक तीन सयलाई रोजगार दिने १३औँ कम्प्लेक्स निर्माण, अझ सफलताको कामना !

बुटवल। एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ ।

एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले  बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा खडा गर्न लागिएको आठ तलाको बहुउद्देश्यीय व्यापारिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माणसँगै नयाँ वर्षको दिनदेखि नै व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिएका छन् ।

गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र रु ३५ करोड लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार भवनका लागि जग्गा खरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी रु ९० करोड पुगेको छ ।

निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक तीन सय भन्दा बढी कामदार परिचालन भएका छन् । “हामीले दक्ष र युवा इन्जिनियरको कन्सल्टेन्टलाई जुन समयसीमा तोकेर जिम्मा दिएका थियौँ, त्यही समयमै काम सकिएको छ, यो नै हाम्रो सफलता हो” – अध्यक्ष गुरुङले भने ।

स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उनले बताए । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढी अप्रत्यक्ष रोजगार सिर्जना हुने उहाँको दाबी छ ।

यो सुपर कम्प्लेक्समा यसअघि सञ्चालनमा आएको कम्प्लेक्सभन्दा उपभोक्तालाई एकै स्थानमा बजार गर्ने सुविधासहित मनोरञ्जनको समेत सेवा उपलब्ध हुने अध्यक्ष गुरुङले बताए । यसका लागि भवनको आठौँ तलामा दुईवटा अत्याधुनिक सिनेमा हल निर्माण गरिएका छन् ।

वैशाख १ गतेदेखि व्यावसायिक कारोबार सुरु गर्ने योजनामा रहेको यो व्यावसायिक प्रतिष्ठानले सेवा सुरु भएको एक सातासम्म विशेष छुटको योजना ल्याउने भएको छ । रासस