अन्तर्राष्ट्रिय

भारत र अस्ट्रेलियाबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टेलियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सम्झौताका विषयमा गहन छलफल पछि सम्झौतामा हस्ताक्षर गरिएको भारतले बताएको छ ।

सम्झौता हस्ताक्षर भएपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, “अस्टेलिया र नयाँ दिल्लीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयलाई समीक्षा गर्दै दुई देशबीचको साझा विषयमा सहकार्यका लागि अग्रगामी निर्णयहरु लिन केही नयाँ सम्झौतासमेत गरिएको छ ।”

सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारत प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका विषयमा जोड दिँदै आतङ्कवाद र साइवर सुरक्षाका लागि विश्वव्यापी रणनीति र समाधान खोजिनुपर्ने बताए ।

त्यसैगरी अस्टेलियाली प्रधानमन्त्री टनबुलले आफ्नो मुलुकले भारतसँगको मजबुत एवम् सुमधुर सम्बन्धका लागि थप निकटमा रहेर काम गर्ने बताए ।

मेरो भारत भ्रमणले यसअघि मजबुत एवम् मित्रवत् रहँदै आएको सम्बन्ध थप मजबुत बनेको छ, टर्नबुलले संयुक्त पत्रकार सम्मेलनका क्रममा बताए ।

टर्नबुलले आफ्ना भारतीय समकक्षीले भारतमा आर्थिक प्रगति र विसकासका लागि गरेको नेतृत्व प्रशंसनीय भएको बताए । भारतको सफलता विश्वका लागि प्रेरणाको स्रोत बनेको भन्दै अस्ट्रेलियाले धेरै विषयमा भारतसँग सम्बन्ध जोड्न चाहेको बताए । टर्नबुल आफ्नो चारदिने भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँ दिल्ली आएका हुन् ।