पु.समाचार

स्थानीय तहको निर्वाचनमा राप्रपाको केन्द्रीय नेतृत्वनै भिड्दै, को–कहाँबाट उठ्दैछन् ?

काठमाडौँ । सत्तारुढ दल राप्रपाले ५ वैशाखसम्म गाउँपालिकाका सबै पदमा उम्मेदवार बन्नेहरूको नामावली यकिन गरिसक्ने तयारी गरेको छ । ३१ वैशाखका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मुख्य कार्य पार्टीको घोषणापत्र सार्वजनिकलगायतका काम पनि सोही मितिमै सक्ने तयारी पार्टीको छ ।

‘१ वैशाखसम्म घोषणापत्र सार्वजनिक र ५ वैशाखसम्म स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने सबैको नामावली यकिन गर्नेगरी हामी लागिरहेका छौँ,’ सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘पार्टीका नेताहरू घोषणापत्र टुंग्याउन र सम्बन्धित क्षेत्रमा लोकप्रियलाई उम्मेदवार बनाउन ‘ग्राउन्ड रियालिटी’ रातदिन खटिइरहनुभएको छ ।’

जित्ने ठाउँमा केन्द्रीय सदस्यलाई उठाउने तयारी
मंगबारको नयाँ पत्रिकामा लेखिएको छ, राप्रपाले स्थानीय तहको निर्वाचनमा पार्टीले जित्ने सम्भावना भएका स्थानमा पार्टीका केन्द्रीय पदाधिकारीसमेतलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ । पार्टीको त्यही रणनीतिअनुरूप केन्द्रीय पदाधिकारीलाई समेत उम्मेदवार बनाउने गरी दुई उपमहानगरपालिका र नौ नगरपालिकामा टिकट पक्का गरेको छ ।

त्यस्तै, राप्रपाले पार्टीको चुनाव चिह्न गाई लिएर निर्वाचन लड्न चाहने सम्बन्धित क्षेत्रका लोकप्रिय अन्य राजनीतिक दलका नेता वा स्वतन्त्र व्यक्तिलाई पनि अवसर दिने रणनीति बनाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पदाधिकारी को कहाँ उम्मेदवार ?
राप्रपाले पार्टी महामन्त्री डा.धवल शमशेर राणालाई नेपालगन्ज उपमहानगरपालिकामा मेयरको उम्मेदवार बनाउने भएको छ । उनी यसअघि नेपालगन्ज नगरपालिका हुँदा मेयर भइसकेका छन् । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा राणा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग पराजित भएका थिए ।

सहमहामन्त्री राम थापालाई झापाको दमक नगरपालिकाको मेयर बनाउने भएको छ । थापा सोही नगरपालिकाको पूर्वमेयरसमेत हुन । त्यस्तै सहायक महामन्त्री मनोज प्रधान सल्यानको शारदा नगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । उनी ०७० को संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

काठमाडौं महानगरपालिकामा पार्टीका पूर्वप्रवक्ता तथा वर्तमान केन्द्रीय सदस्य राजाराम श्रेष्ठ वा सहायक महामन्त्री राजेन्द्रप्रसाद श्रेष्ठमध्ये एकजनाले मेयरमा टिकट पाउने सहप्रवक्ता श्रेष्ठले नयाँ पत्रिकालाई जानकारी दिए ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिकामा केन्द्रीय सदस्य भक्ति सिटौला मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनी २०७० को संविधानसभा निर्वाचनमा पराजित भएका थिए ।

हेटौँडा उपमहानगरपालिकामा केन्द्रीय सदस्य दीपकबहादुर सिंह वा सांसद गणेश थापामध्ये एकजनालाई मेयरको टिकट दिने तयारी गरेको छ । थापा पार्टी अध्यक्ष कमल थापाका सहोदर भाइ हुन् ।

मेची नगर, नगरपालिका झापामा ०७० को संविधानसभा निर्वाचनमा पराजित अशोक सुब्बालाई मेयरमा लडाउने निर्णय राप्रपाले गरेको छ । सिद्धार्थ नगर, नगरपालिका रुपन्देहीमा पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणा, व्यास नगरपालिका तनहुँमा पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीलाई मेयरमा निर्वाचन लडाउने निर्णय पार्टीले गरिसकेको सहप्रवक्ता श्रेष्ठले जनाए । गोरखाको गोरखा नगरपालिकामा पार्टीका जिल्ला अध्यक्ष रुद्रराज पाण्डे वा नगर अध्यक्ष सरोज कुँवरमध्ये एकजनालाई मेयरमा टिकट दिइने श्रेष्ठले बताए ।

धनकुटामा सूर्यबहादुरका नाति लड्ने
धनकुटाको धनकुटा नगरपालिकामा पूर्वप्रधानमन्त्री एवं राप्रपाका पूर्वअध्यक्ष स्व। सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापालाई राप्रपाले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमन्त्रीसमेत रहेका पार्टी महामन्त्री सुनील थापाका छोरा सिद्धार्थलाई मेयरको टिकट दिने निर्णय पार्टीले गरिसकेकोको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।