खेलकुद

मंगलबारदेखि राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु हुँदै

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) को आयोजनामा १९ औं पुरुष राष्ट्रिय खुला तथा १२ औं महिला राष्ट्रिय तौलसमूह फुल कन्ट्याक्ट कराँते प्रतियोगिता मंगलबारदेखि शुरु हुने भएको छ ।

प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ९० खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा महिलाको ४० केजी तौलसमूहमा ४० खेलाडीले भाग लिने आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचनले जानकारी दिए ।

पुरुषमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार, ७ हजार ५ सय र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा पहिलो हुनेले ५ हजार, दोश्रोले २ हजार ५ सय, तेश्रोले १ हजार २ सय र चौथोले ५ सय नगद पुरस्कार हात पार्नेछन् ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।