राजनीति

प्रधानमन्त्री दाहालले किन सकेनन् उपप्रधानमन्त्रीहरुको मर्यादाक्रम तोक्न ? यस्तो छ भित्री कारण !

काठमाण्डौ । मुलुकमा महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने यो बेला पछिल्लो करिब एक महिनादेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजना उपप्रधानमन्त्रीहरुको मर्यादाक्रम मिलाउन नसक्दा मन्त्रिपरिषद बैठकनै प्रभावित भएको हो ।  प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्रीहरुको मर्यादाक्रम मिलाउन नसक्दा मुलुक करिब एक हप्ता नेतृत्वबिहिन ढंगले चल्यो । देश सञ्चालनको कार्यकारी अधिकार कसैलाई नदिई प्रधानमन्त्री दाहाल चीन भ्रमण सकेर फर्किए । मर्यादाक्रमको विवाद त्रिभुवन विमानस्थलमै छताछुल्ल भयो ।

उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि, कमल थापा र कृष्णबहादुर महरामध्ये मर्यादाक्रममा को अघि भन्ने बहस अहिले चर्को रुपमा उठिरहेको छ । नेपाली कांग्रेसको तर्फबाट उपप्रधान तथा गृहमन्त्री भएका विमलेन्द्र निधि र उनको पार्टीले आफु मर्याद्धाक्रममा अघि हुनुपर्ने जिकिर गरिरहेको छ भने राप्रपाको तर्फबाट उपप्रधान तथा स्थानीय विकासमन्त्री भएका कमल थापाले आफुलाई मर्यादाक्रममा अघि राखिनुपर्ने जिकिर गरिरहेका छन् । उप्रप्रधान तथा अर्थमन्त्री महराले भने मर्यादाक्रममा खासै दावी नगरेका खबरहरु बाहिर आइरहेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भने आफ्नो पार्टीको तर्फबाट उपप्रधान तथा गृहमन्त्री भएका निधिनै बरिष्ठताको आधारमा मर्यादाक्रममा अघि हुने बताइरहनुभएको छ । सभापति देउवाले प्रधानमन्त्री दाहाललाई समेत यो विषयमा पटक–पटक सम्झाइसकेका छन् । पछिल्लो समयमा यो विषयमा चर्को मतभेद हुँदा करिब एक महिनादेखि मन्त्रिपरिषद बैठकनै बस्न सकेको छैन । यो विवादले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री दाहाल र उनको हैसियतमाथिनै प्रश्न चिन्ह खडा हुँदै गएको देखिन्छ ।

प्रधानमन्त्री दाहाल असफल !
गत साउन १९ गते सरकार निर्माण हुने वित्तिक्कै नेपाली कांग्रेसको तर्फबाट सो पार्टीका नेता विमलेन्द्र निधि, वालकृष्ण खाँण, गगन थापा लगायत सरकारमा सहभागी हुने निर्णय भयो । जसमा निधि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भए । सरकार निर्माण भएदेखिनै कांग्रेसले उनलाई प्रधानमन्त्री पछिको हैसियतमा राख्नुपर्ने दुई पार्टीबीच आन्तारिक सहमति गरेको थियो । त्यसको करिब ७ महिनापछि कमल थापा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री नियुक्त भए । थापा मन्त्रिपरिषदमा प्रवेश गरिरहँदा निधि भारत भ्रमण रहेका थिए । त्यही बेला उपप्रधानमन्त्री थापाले मर्यादाक्रम मिच्ने काम गरे । निधि बसिरहेको कुर्सीमा थापा बसिदिए । निधि दिल्ली भ्रमणबाट फर्किएलगत्तै मर्यादाक्रमको विषयमा विवाद चर्कियो । निधिले लगत्तै प्रधानमन्त्री दाहाल र आफ्नो पार्टीका सभापति देउावसमक्ष कुरा राखे ।

सभापति देउवाले प्रधानमन्त्री दाहाललाई पनि चर्को दवाव दिए तर दाहालले वास्तै गरेनन् । निर्धारित समयमा स्थानीय चुनाव गराउन मधेसी मोर्चालाई समेत चिढ्याएर राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा भित्र्याएका दाहालले उनलाई तत्काल चिढ्याउन चाहेनन् । फलस्वरुप, मुलुक नै अनिर्णयको बन्दीमा फस्यो । प्रधानमन्त्री दाहालले अहिलेसम्म मर्यादाक्रमको विवाद समाधान गर्न नसक्नुले उनी असफल हुँदै गएको संकेत देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

किन वास्ता गरेनन् प्रचण्डले देउवाको दावावलाई ?
राप्रपा अध्यक्ष कमल थापा मन्त्रिपरिषदमा जोडिएको निकै समय भइसक्दा समेत उपप्रधानमन्त्रीको मर्यादाक्रम मिलाउन नसक्नु आफैमा राष्ट्रिय लज्जाको विषय हो । यो विवाद तत्काल समाधान गर्न नसक्नुनै प्रधानमन्त्री दाहालको गम्भीर कमजोरी भएको जानकारहरु बताउँछन् । पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएका दबाबहरु समेत प्रधानमन्त्री दाहालले बेवास्ता गरिरहेको श्रोत बताउँछ । यद्यपि, पछिल्ला दिन भने प्रधानमन्त्री दाहालले निधिको पक्षमा सकारात्मक संकेत दिएका खबरहरु बाहिर आइरहेका छन् । प्रधानमन्त्री दाहालले सभापति देउवाको दबाबलाई बेवास्ता गर्नुमा यसअघि भएको एउटा राष्ट्रिय घटनालाई समेत जोडेर हेरिएको छ ।

आइजीपी प्रकरणमा देउवाले अघि सारेको निर्णयमा सरकार फसेको देखियो । देउवाको प्रस्तावमै जयबहादुर चन्दलाई आइजीपी बनाएको २४ घण्टा नबित्दै सर्वोच्चले उल्टाइदिएपछि सरकारको छबिमा नराम्रो दाग लागेको र देउवाको सल्लाहमा हिड्दा सरकारलाई घाटा लाग्ने देखेर प्रधानमन्त्री दाहालले उनले दिने गरेका दबाबहरुको बेवास्ता गर्ने गरेको एकथरी विश्लेषकहरु बताउँछन् ।

अर्को विषय भने पछिल्ला दिन माओवादी केन्द्र र कांग्रेसबीच देखिएको आन्तारिक चिसोपनाले पनि यसमा काम गरेको देखिन्छ । प्रधानमन्त्री दाहालले अघि सारेको चुनावसम्बन्धी नयाँ प्रस्तावमा समेत कांग्रेस शंका व्यक्त गरिरहेको छ । जसका कारण प्रचण्ड र देउवाबीच आन्तारिक टक्कर बढिरहेको जानकाहरु बताउँछन् । प्रधानमन्त्री दाहालको यो रवैयामाथि कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले प्रश्न उठाइरहेका छन् । जुन घटना प्रधानन्त्री दाहालकै लागि गलपासो हुनसक्ने एकथरी विश्लेषकहरु बताउँछन् ।