खेलकुद

भेट्रान टोली नेदरल्यान्ड प्रस्थान गर्दै

काठमाण्डौ । नेपालका दुई भेट्रान धावक रामकृष्ण महर्जन र धर्म महर्जन अन्तर्राष्ट्रिय दौडमा सहभागी हुन नेडरल्यान्डको रोटर्डम जाने भएका छन् । मंगलबार दुई सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । प्रतियोगितामा अप्रिल ९ मा रामकृष्णले म्याराथनमा सहभागिता जनाउने जनाइएको छ । रामकृष्णसँग विभिन्न १५ अन्तर्राष्ट्रिय भेट्रान दौडमा सहभागिता जनाएको अनुभव छ ।

तीमध्ये उनले १७ औं मलेसियन ओपन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर, मलेसियामै भएको १६ औं एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको १० हजार मिटर तथा ब्लायकमोर्स सिडनी म्याराथनमा स्वर्ण जितेका थिए ।

धर्मले ६० किलोमिटर अल्ट्रा डि जेस्टिङ टेक्सेलमा अप्रिल १७ तारिखमा प्रतिस्पर्धा गर्नेछन् । धर्मले सन् २०१४ मा जापानमा भएको एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको ४०–४५ वर्ष उमेर समूहको १० किलोमिटरमा कांस्य तथा ५ किलोमिटर दौडमा चौथो भएका थिए ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल मास्टर्स एथलेटिक्स तदर्थ समितिका अध्यक्ष एवं दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरेका हुन् ।

सो अवसरमा सदस्य–सचिव विष्टले भेट्रानको सहभागिताले सक्रिय खेल जीवनबाट सन्यास लिएपनि खेलाडी खेलबाट टाढा रहन सक्दै भन्ने सन्देश दिएको बताउदै राष्ट्रको गौरव बढाउने कुरामा उमेर कहिले बाधक नबन्ने धारण व्यक्त गरे ।