राजनीति

काठमाण्डौ आएको एकहप्ता पनि नबित्दै यसरी फस्ने भए भारतीय राजदूत पुरी

काठमाण्डौ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले कार्यभार सम्हालेको एक हप्ता पनि पुगेको छैन । निवर्तमान भारतीय राजदूत रणजित राय भारत प्रस्थान गरेको करिब एक महिनापछि काठमाण्डौ आइपुग्नुभएका राजदूत पुरीले कार्यभार सम्हालेको एकहप्ता पनि नपुग्दै विवादमा तानिने संकेत देखा परेको छ । कार्यभार सम्हालेको भोलिपल्टै देखि राजनीतिक नेताहरुसँगको भेटघाटलाई तिव्रता दिइरहनुभएका उनले भेटका क्रममा अनावश्यक दबाब दिएका खबरहरु बाहिर आएका छन् । नवनियुक्त राजदूत पुरीले राष्ट्रपति विद्या भण्डारीलाई ओहोदाको प्रमाणपत्र पेस गरेको भोलिपल्टै देखि राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट गर्न सुरु गरेका थिए ।

सुरुमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सुटुक्क भेट्नुभएका उनले त्यसपछि एमाले अध्यक्ष केपी ओली, उपप्रधानमन्त्रीद्धय कमल थापा, विमलेन्द्र निधि लगायतलाई भटेका थिए । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भने उनले बिहीबार भटेका थिए । शीर्ष नेताहरुलाई लगातार भेटिरहनुभएका पुरीले केही नेता र मन्त्रीहरुलाई भने अनावश्यक ढंगले मुलुकलाई प्रभावित पार्ने खालका मुद्धाहरुमा दबाब दिने गरेको खुलासा भएको छ । राजदूत पुरीले विशेषगरी नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने लगायतका मुद्धाहरुमा चर्को दबाब दिएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हवाला दिँदै उनले केही मन्त्रीहरुसँग फाष्ट ट्रयाकको विषयदेखि हिन्दु राष्ट्रको मुद्धामा समेत दबाब दिएको खुलासा भएको हो । राजदूत पुरीले विशेषगरी उपप्रधानमन्त्री कमल थापासँगको भेटका क्रममा हिन्दु राष्ट्र र राजतन्त्रको मुद्धामा चर्को दबाब दिएको श्रोतले बताएको छ ।

भारतीय बुद्धिजिवीले गरे खुलासा  

नवनियुक्त भारतीय राजदूत पुरीले नेपाल प्रवेश गर्नासाथ चालेका आन्तरिक कदमको भारतीय वुद्धिजिवीहरुले नै चर्को विरोध गर्दै यो कुराको खुलासा समेत गरेका छन् । पछिल्ला भेटका क्रममा राजदूत पुरीले नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने भन्दै त्यसको पक्षमा खुलेरै लबिङ गरेको भारतीय प्रोफेसर एसडी मुनीले खुलासा गरेका हुन् । शुक्रबार आफ्नो ट्वीटर अकाउन्टमा स्टाटस् लेख्दै उनले सो भारतीय राजदूत पुरीले चालेका कदमको घुमाउरो ढंगले विरोध समेत जनाएका छन् । प्रोफेसर मुनीले राजदूत पुरीले नेपाललाई दिएको दबाब भारत र नेपालको संविधान विपरित भएको समेत आरोप लगाउदै यो लाइन विजेपीको भएको समेत स्पष्ट पारेका छन् । राजदूत पुरीले उपप्रधानमन्त्री कमल थापासँगको भेटका क्रममा हिन्दु राज्य र राजतन्त्रको बारेमा गम्भीर चासो व्यक्त गर्नुभएको खबर बाहिर आइरहेको छ ।