राजनीति

सप्तरीमा झडपको संकेत, एमालेको कार्यक्रम विथोल्न बिहानैदेखि मोर्चाका कार्यकर्ता सडकमा !

सप्तरी । दुई दिनअघिदेखि सुरु भएको एमालेको मेची–महाकाली अभियान सोमबार सप्तरी आइपुगेको छ । सप्तरीमा एमालेले बृहत आमसभाको आयोजना गरेपनि मधेसी मोर्चाले आयोजना गरेको बन्दका कारण सो कार्यक्रम प्रभावित हुने देखिएको छ । मोर्चामा आबद्ध दलका कार्यकर्ताहरुले राजविराज लगायतका बजार क्षेत्रमा चल्ने यातायात बन्द गरेका कारण एमालेको कार्यक्रममा प्रभाव पर्ने देखिएको हो ।

मोर्चाले आफुहरुले जिल्ला बन्दको आयोजना गरेको बेला एमालेले सभाको आयोजना गरे बिथोल्न धम्की दिएको छ । उसले यदि जबर्जस्ती गरेमा त्यसबाट आउने परिणामको जिम्मेवारी एमालेले लिनुपर्ने बताएको छ । त्यस्तै, एमालेले आफुले पूर्वनिर्धारित कार्यक्रमअनुसार सभा आयोजना गर्न लागेकोले त्यसलाई अवरोध नगर्न स्थानीय बासीहरुसँग आह्वान गरेको छ । उसले लोकतन्त्रमा सबै दललाई स्वतन्त्रतापूर्वक सभा र सम्मेलन गर्न पाउने अधिकार भएकोले बलजफ्ती नगर्न आह्वान गरेको छ ।

एमालेको कार्यक्रम बिथोल्ने उद्धेश्यका साथ आइतबारदेखिनै सप्तरीमा मोर्चाका कार्यकर्ताले स्थानीय जनतासँग घरदैलो कार्यक्रम गरेका थिए । सोमबार बिहानैदेखि सप्तरीमा बन्दको प्रभाव देखिएको छ । एमालेको सभा विथोल्न मोर्चाले लाठी जुलुससमेत प्रदर्शन गर्ने तयारी गरिरहेको जनाइएको छ । मोर्चाका कार्यकर्ता बिहानैदेखि सडकमा प्रदर्शनमा उत्रिएका छन् ।