राजनीति

डा.शेखर कोइरालामाथि किन भयो अन्याय ? यस्तो छ भित्री कारण !

काठमाण्डौ । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वको बरियताक्रम नमिल्दा भाँडभैलो मच्चिएको छ । केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको कार्यसम्पादन समिति गठनको प्रस्ताव अनुमोदन भएलगत्तै असन्तुष्ट नेता कार्यकर्ताले त्यसको चर्को आलोचना गरेका हुन् । सभापति देउवाले विशेषगरी आफ्नो पक्ष र रामचन्द्र पौडेल पक्षका नेताहरुलाई मिलाएर कार्य सम्पादन समिति गठन गरेका थिए ।

सभापति देउवाले बैठकमा प्रस्तुत गरेका नामहरु अनुमोदन त भए तर मर्यादाक्रममा शीर्ष नेतृत्व सो सरहका केही नेताहरुले सुरुमै आफ्नो नाम नपरेको भन्दै असन्तुष्टि पोखे । १३ औं महाधिवेशनमा सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका डा. शेखर कोइरालाको नाम कार्यसम्पादन समितिमा छैन । तर डा.कोइरालाभन्दा जुनियर नेताहरु त्यो समितिमा अटाएका छन् । केन्द्रीय समिति बैठकले अनुमोदन गरेपनि डा.कोइरालाले बैठकमा सुरुमै बोल्न समय मिलाएर नेतृत्वको कटाक्ष गरेका थिए ।

उनले सभापति देउवा र वरिष्ठ नेता पौडेलभन्दा पनि सिनियर नेताहरुको नाम निकै तल राखिएको, महाधिवेशनमा लोकप्रिय मत ल्याएर प्रजातान्त्रिक अभ्यासमा खरो उतिर्ण भएको आफु लगायतका साथीहरु माथि अन्याय भएको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए ।
उनले कार्यकर्ताको भावनामाथि खेलवाड भएको भएको र  प्रजातान्त्रिक पार्टीमा यस्तो हुनै नसक्ने भन्दै नेतृत्वप्रति घुमाउरो ढंगले व्यंग्य प्रहार समेत गर्नुभएको श्रोतले बताएको छ ।

श्रोतका अनुसार सभापति देउवाले असन्तुष्ट पक्षको रुपमा देखिएका पौडेल पक्षबाट एक दर्जन र बाँकी आफ्नो पक्षबाट मिलाएर २९ जनाको कार्यसम्पादन समिति निर्माण गरेका थिए । जसमा डा.कोइरालाभन्दा निकै जुनियर सदस्यहरु परेका छन्, उनी परेका छैनन् ।

डा.कोइरालालाई किन रुचाएन नेतृत्वले ?
नेपाली कांग्रेसभित्र लामो समय नेतृत्व दिएर आएको कोइराला परिवारमा अहिले पनि प्रभावशाली नेतृत्व दिन सक्ने केन्द्रीय सदस्यहरु रहेका छन् । जसमा डा.शेखर कोइराला, शशांक कोइराला र सुजाता कोइरालाले कांग्रेसभित्रको कोइराला परिवारको राजनीतिक नेतृत्व र  अस्तित्वको जगेर्ना गर्ने अपेक्षा गर्न सकिन्छ । तर यो पटक पार्टीको बरियतामा शशांक र सुजाता परे, तर शेखर कोइराला परेनन् किन ? यसका केही कारणहरु हुनसक्ने श्रोतले बताएको छ ।

वास्तवमा सभापति शेरबहादुर देउवा पछिल्लोपटक मुलुककै लागि विशेष महत्व राख्ने एक दुईवटा घटनामा जोडिएका थिए । केही महिनाअघि देखि चुलिएका विवादास्पद घटनाहरु आइजीपी नियुक्तिदेखि लिएर राजदूत सिफारिस गर्ने काममा समेत सभापति देउवाको नाम मुछिएको छ । आइजीपी नियुक्तिको विषयमा त सभापति देउवा करिब करिब फेलनै भएको देखिन्छ । उता, राजदूत नियुक्तिका विषयमा पनि त्यस्तै भद्रगोल देखिएको थियो ।

यी घटनाअघि पार्टी नेतृत्वले गरेका कामको खासै विरोध नगर्ने र देउवा र पौडेलबीचको समदुरीमा रहन रुचाउने कोइरालाले पछिल्लो पटक देउवाका यी कदमहरुको खुलेर विरोध गरेका थिए । यी कदमको खुलेर विरोध गर्दा कोइरालालाई देउवाले नरुचाएको समेत श्रोतको दाबी छ । पछिल्लो समयमा देउवाका कदमको विरोध गर्ने र पौडेल पक्षमा पनि खुल्ला रुपमा समर्थन नगर्ने भएपछि उनलाई कसैले विश्वास गर्ने वातावरण बनेन, श्रोतको दाबी छ ।

सभापति देउवाले पौडेल पक्षले समेत उनलाई बेवास्ता गरेको यो कुरा अन्तिममा बुझे । त्यसपछि आन्तारिक ढंगले सम्पादन समितिको टिम निर्माण भयो । तर यो बिन्दुमा आएर पौडेलले शेखर कोइरालाई पूरै बेवास्ता गरिदिए । जसका कारण महाधिवेशन भएको करिब १ वर्षपछि गठन गरिएको पार्टीको महत्वपूर्ण संरचनामा कोइरालाको नाम छुट्यो र तल्लो तहका नेता कार्यकर्ताले अहिले नेतृत्वको यो कदमको चर्को आलोचना गर्ने वातावरण वन्यो ।

आइतबारको बैठकमा बोल्दा डा.कोइरालाले आफुमाथि अन्याय हुँदैछ भन्ने कुरा पहिल्यै थाहा पाएको बताउँदै समितिमा नराखेकोमा पार्टी सभापति देउवा र अन्य नेताहरुलाई धन्यवाद दिँदै कठोर व्यंग्य समेत गनुभएको श्रोत जनाएको छ । बैठकमा उनले देउवा र पौडेलभन्दा सिनियर नेता खुमबहादुर खड्कालाई समेत आठौ नम्बरमा राखेर अन्याय गरेको भन्दै नेतृत्वको चर्को आलोचना गरेका थिए ।