पु.समाचार

अब यसरी चुनिदैछन् स्थानीय प्रतिनिधि

काठमाण्डौ । आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय ‘कार्यपालिका’ सानो र‘व्यवस्थापिका’ ठूलो आकारको हुने भएको छ । स्थानीय तहको कार्यकारिणी अधिकार भने गाउँपालिकाको हकमा गाउँ कार्यपालिका र नगरपालिकाको हकमा नगर कार्यपालिकामा निहित रहनेछ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित हुनेछन् । दुवै पदाधिकारी गाउँ कार्यपालिका र गाउँ सभा (व्यवस्थापिका) का अध्यक्ष र उपाध्यक्ष रहनेछन् । गाउँ कार्यपालिकामा अध्यक्ष र उपाध्यक्षसहित प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, गाउँ सभाका सदस्यहरूले आफु मध्येबाट निर्वाचित गरेका चारजना महिला सदस्य र गाउँ सभाले नै दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका दुईजना सदस्य रहनेछन् ।

आइतबारको राजधानीमा लेखिएको छ, यसैगरी गाउँ सभामा अध्यक्ष र उपाध्यक्षसहित प्रत्येक वडाका निर्वाचित वडा अध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट मनोनीत दुई सदस्य रहनेछन् । गाउँ सभामा प्रत्येक वडाबाट दुईजना महिला अनिवार्य रूपमा निर्वाचित हुनेछन् । जसमध्ये एकजना दलित महिला हुनुपर्ने व्यवस्था छ ।

यसका लागि निर्वाचनमा भाग लिने दलहरूले महिला महिलाबीचमै प्रतिस्पर्धा हुने गरी उम्मेदवारी दिनुपर्नेछ । यसैगरी नगरपालिकाको हकमा नगर कार्यपालिका र नगर सभा (व्यवस्थापिका) रहनेछन् । जसमा नगर कार्यपालिका र नगर सभाका प्रमुख र उपप्रमुखको रूपमा क्रमशः मेयर र उपमेयर रहनेछन् । नगर कार्यपालिकामा मेयर र उपमेयरसहित प्रत्येक वडामा निर्वाचित वडा अध्यक्ष, नगर सभाका सदस्यहरूले आपूmमध्येबाट निर्वाचित गरेका पाँचजना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीनजना सदस्य रहनेछन् । नगर सभामा भने मेयर, उपमेयरसहित प्रत्येक वडाबाट निर्वाचित वडाअध्यक्ष, प्रत्येक वडाबाट निर्वाचत चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित तीनजना सदस्य निर्वाचित हुनेछन् ।

नगर सभामा पनि गाउँ सभामा जस्तै प्रत्येक वडाबाट दुईजना महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्नेछ जसमा एकजना दलित महिला हुनुपर्ने व्यवस्था छ । गाउँ कार्यपालिका र नगर कार्यपालिकामा निर्वाचित हुने महिला सदस्यमा सबैभन्दा बढी मत ल्याउने महिलालाई निर्वाचित गरिनेछ । गाउँ सभा वा नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र सम्बन्धित गाउँ सभा वा नगर सभाले गाउँपालिकाका लागि चार र नगर कार्यपालिकाका लागि पाँचजना महिला सदस्य छनोट गर्नेछ । यदि पाँचवटा वडा भएको गाउँपालिका छ भने गाउँ सभामा कुल २९ जना सदस्य हुनेछन् भने गाउँ कार्यपालिकामा १३ जना सदस्य हुनेछन् ।

यसैगरी १५ वटा वडा भएको नगरपालिकामा नगर सभामा ८० जना सदस्य हुनेछन् भने २५ जना सदस्य रहेको नगर कार्यपालिका गठन गरिनेछ । पाँचवटा वडा भएको गाउँपालिकामा अध्यक्ष एक, उपाध्यक्ष एक, वडा अध्यक्ष पाँच, प्रत्येक वडाबाट चारजनाका दरले निर्वाचित सदस्य २० र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई गरी २९ जना हुनेछन् । तर, गाउँ कार्यपालिकामा भने अध्यक्ष एक, उपाध्यक्ष एक, वडा अध्यक्ष पाँच, महिला सदस्य चार र अल्पसंख्यक वा दलित समुदायबाट गाउँ सभाले निर्वाचित गरेका दुई गरी १३ जना मात्रै रहनेछन् ।

यसैगरी १५ वटा वडा भएको नगरपालिकाको नगर सभामा मेयर एक, उपमेयर एक, वडा अध्यक्ष १५, प्रत्येक वडाबाट निर्वाचित सदस्य ६० र दलित वा अल्पसंख्यक समुदायबाट तीन गरी कुल ८० जना सदस्य रहनेछन् । नगर कार्यपालिकामा भने मेयर एक, उपमयेर एक, प्रत्येक वडाका वडा अध्यक्ष १५, महिला सदस्य पाँच र दलित वा अल्पसंख्यक समुदायबाट तीन गरी २५ जना रहनेछन् ।

स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र संघीय कानुनको अधीनमा रही गाउँपालिकाको हकमा गाउँ कार्यपालिका र नगरपालिकाको हकमा नगर कार्यपालिकामा हुनेछ । गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको निर्देशन, नियन्त्रण र सञ्चालन गाउँ कार्यपालिका र नगर कार्यपालिका नै गर्ने संविधानको धारा ११४ मा उल्लेख छ ।