राजनीति

एमालेले हार्ने डरले निर्बाचन बिथोल्न खोजेको छ – डा. शेखर कोईराला

सुर्यखबर सम्बाददाता,

ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सहित रहेका प्रभाबशाली नेता डा शेखर कोइरालाले एमाले दुनियाकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको बताएका छन्। काँग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनको शनिवार उद्घाटन गर्दै कोइरालाले एमालेकै कारण मुलुकमा समस्या निम्तिएको बताए।

एमाले जन्मनुभन्दा अगाडिदेखि काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रका लागि लडिरहेको बताउँदै कोइरालाले काँग्रेसलाई राष्ट्रियताको पाठ सिकाउने नैतिकता एमालेसँग नरहेको बताए। उनले नक्कली राष्ट्रवादको नारा लिएर मेची–महाकाली यात्राका नाममा एमालेले निर्वाचन विथोल्न खोजेको आरोप लगाए। उग्रबादी नारा लिएर तराई प्रबेश गर्नु निर्बाचन बिथोल्ने एमालेले प्रयो गरेको कार्ड भएको बिचार ब्यक्त गरेका छन् ।

कोइरालाले भने,‘ सुदूरपश्चिम पुगेर हाम्रा सभापति शेरबहादूर जीलाई तथानाम गाली गर्ने केपी ओलीजीको हो ?’ उनले मधेसी मोर्चाको सहमतिबिना गरिने चुनावले मुलुकलाई विखण्डनमा लैजाने पनि बताए।

डा. कोईरालाले तोकिएको मितिमा कुनैपनि हालतमा निर्बाचन गर्न सरकार लागेपनि एमालेले ०५४ सालमा निर्बाचन परिणाम ल्याएका कारण अहिले त्यो जनमत गुमेको आशंकामा निर्बाचन भांड्न खोजेको हुन सक्ने अनुमान लगाएका छन् ।

कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य किरण यादव, सांसदहरू चन्द्र महर्जन, उदयशमशेर राणा, पूर्व सांसद रामक्रृष्ण चित्रकार लगायतले आफ्नो धारणा राखे।प्रजातन्त्र सेनानीहरूलाई सम्मान समेत गरिएको सो कार्यक्रममा एमाले परित्याग गरी ३ दर्जन ब्यक्तीहरू काँग्रेस प्रवेश गरेका थिए।