आर्थिक

ध्यान दनिुस एटिएमबाट यसरी हुन्छ यहाँको रकम चोरी

काठमाण्डौ । बैंक खाताका डिजिटल कोड अनधिकृत रूपमा हात पारेर ३ करोड ३९ लाख रुपैयाँभन्दा धेरै रकम निकाल्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले सोमबार नियन्त्रणमा लिएको मुख्य योजनाकारसहित आठ जनालाई मंगलबार सार्वजनिक गरेको छ ।

पेपाल, विटकोन, पर्फेक्ट मनीजस्ता विभिन्न डिजिटल आर्थिक कारोबार गर्ने कम्पनीमार्फत रकम भुक्तानी गरेर उनीहरूले ह्याकरहरूबाट विभिन्न व्यक्तिका बैंक खाताका पासकोड खरिद गर्थे । डिजिटल दुनियाँमा ह्याकरका केही समूहले व्यक्ति तथा संस्थाको बैंक पासकोड अनधिकृत रूपमा हात परी बेच्ने काम गर्छन् । यो गिरोहले पनि यही तरिकाबाट पासकोड फेला पारेको देखिन्छ ।

अनधिकृत रूपमा हात पारेका बैंक खाताका पासकोडलाई म्यागनेटिक स्टिप कार्ड रिडर ९एमएसआर० नामक मेसिनमार्फत खाली एटीएम कार्डमा भर्थे । काठमाडौं उपत्यका र भारतका ठूला उद्योगी व्यापारी तथा विभिन्न कम्पनीले व्यावसायिक कारोबार सञ्चालनका निम्ति उपयोग गर्ने ‘पोइन्ट अफ सेल’ मार्फत उनीहरूले त्यस्तो एटीएमको प्रयोग गर्थे । ‘पोइन्ट अफ सेल’ भनेको एटीएम कार्ड स्वाइप गर्ने मेसिन हो, जसलाई ठूलो कारोबारी, होटल, डिपार्टमेन्टल स्टोरलगायतले आर्थिक कारोबारका निम्ति उपयोग गर्छन् ।

महाशाखाका अनुसार गिरोहका सदस्यले अनधिकृत डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड स्वाइप गरेर कतैबाट सामान नै किन्थे भने कतैबाट सामानको सट्टा नगद लिन्थे । नगद लिएबापत भने स्वाइप मेसिन धनीलाई कमिसन रकम पनि बुझाउँथे । महाशाखाका एसपी श्याम ज्ञवालीका अनुसार विदेशी नागरिकको विदेशी बैंकको खातामा रहेको रकम नेपालबाट झिकेको देखिन्छ । दुई वर्षअघि कास्कीको पोखरास्थित टीका रिसोर्टबाट २ करोड, नयाँदिल्लीको चारवटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख, एक वर्षअघि क्षेत्रपाटीस्थित डिसोभिनियरबाट ३० लाख, ९ महिनाअघि चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख, ३ महिनाअघि भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख र १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ निकालेको देखिन्छ ।

महाशाखाका अनुसार गिरोहले कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको एडिडास सोरुममा रहेको एटीएम स्विप मेसिनबाट समेत प्रत्येक दिन दस लाख निकाल्ने र उपत्यकाका विभिन्न स्वाइप मेसिनबाट प्रत्येक दिन ५० लाख रुपैयाँ निकाल्ने योजना बनाएका थिए । पक्राउ परेकामा ६ नेपाली र दुई भारतीय छन् ।

मुख्य योजनाकार दोलखा भीमेश्वरका सुरेश केसीका साथै ललितपुर कुसुन्तीका केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका अनुज नकर्मी, अभिषेक नकर्मी र रोमन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पौराणिक थान्का तथा माला सप्लायर्स भक्तपुरका सञ्चालक काभ्रे मेच्छेका विजय लामा दोङ पनि पक्राउ परेका छन् । बुधबारको कान्तिपुर दैनिकका अनुसार कुसुन्तीका केसी दुई वर्षअघि बैंकिङ कसुरमा प्रहरी परिसर ललितपुरबाट कारबाही भोगिसकेका व्यक्ति हुन् । पक्राउ परेका भारतीयमा नदिम खान र आईटी इन्जिनियर अभिषेक पाण्डे छन् । पक्राउ परेकालाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।