समाचार

आइजीपी प्रकरणः मंगलबार अन्तिम फैसला हुँदै

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणबारे सर्वोच्च अदालतले मंगलबार फैसला सुनाइने तयारी गरेको छ । केही दिनदेखि जारी बहस सोमबार सकिएपछि सो प्रकरणको अन्तिम फैसला सोमबार सुनाइने भएको हो । मन्त्रिपरिषदले एक महिना अघि डीआइजी जयबहादुर चन्दलाई नियुक्ति गर्ने निर्णय गरेपछि त्यसलाई रोक्न डिआइजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सिलवाल र ढकालले दायर गर्नुभएको रिटको सुनवाईका लागि आइतबार प्रधानन्यायाधीश कार्की, न्यायाधीसहरु डा।आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हा सम्मिलित बृहत इजलास गठन भएको थियो ।

सोही क्रममा सोमबार सरकार पक्षका वकिलहरुले बहस गरेपछि रिट निवेदक डिआइजी सिलवाल पक्षका कानुन व्यावसायीहरुले जवाफ दिएका थिए । जवाफ र प्रतिजवाफको कानुनी प्रक्रिया सकिएपछि सर्वोच्चले मंगलबार अन्तिम फैसला सुनाउने तयारी गरेको बताइएको छ ।
बहसका क्रममा सरकार र चन्दको बचाउका लागि महान्यायाधिवक्ता रमन श्रेष्ठ र पूर्व महान्यायाधिवक्ता सुशील पन्तले सुनुवाई रोक्न माग गरेका थिए ।