राजनीति

नक्कली राष्ट्रबादको वकालत गर्ने एमाले अध्यक्ष ओली पागल – बरिष्ठ नेता पौडेल

झापा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानिय तहको निर्वाचनको सम्पुर्ण तयारी भइरहेको अवस्थामा पनि निर्वाचन हुनेमा शंका उत्पन्न भइरहेको बताएका छन् ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस तीनै तहको निर्वाचनका लागि तयार रहेको पनि स्पष्ट पारे । पौडेलले भने–‘नेपाली कांग्रेस निर्वाचनका लागि तयार छ तर किन निर्वाचनको त सवै तयारी भइरहदा पनि निर्वाचन हुनेमा कन्फ्यूजन भइरहेको छ ।’ उनले स्थानिय तहको निर्वाचनमा उमेदवारीमा केन्द्रले हस्तक्षेप गर्न नहुने भन्दै उमेदवारी तय गर्न स्थानिय स्तरलाई नै दिनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

पौडेलले कार्यकर्ताहरुलाई उमेदवार को बन्ने भन्ने भन्दा पहिले संगठन निर्माणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।  वरिष्ठ नेता पौडेलले संविधानसभाद्धारा जारी भएको संविधान दक्षिण एशियामा नै सवैभन्दा समावेशी र उत्कृष्ट भएको दाबी गर्दै संविधानले सवैका अधिकारलाई ग्यारेण्टी गरेको ठोकुवा गरेका छन् । गाँउपालिकाको अधिकार कटौतीको षड्यन्त्र भइरहेको भन्दै गाँउपालिकाको अधिकार कटौती गर्नुभनेको मुलुकको समृद्धि र विकास हुन नदिने षड्यन्त्र भएको दावि नेता पौडेलको छ ।

वरिष्ठ नेता पौडेलले मधेशमा जनसंख्याका आधारमा स्थानिय तह बनाउन नेपाली कांग्रेस तयार रहेको भन्दै हिमाल र पहाडको समस्या पनि मधेशले बुझ्न पर्ने बताए । उनले मधेशी मोर्चा आवद्ध दलहरुलाई स्थानिय निर्वाचनमा सहभागि हुन आग्रह गर्दै भने–‘संविधान संसोधन प्रस्ताव अन्तरगतको सिमाङकन एमाले वेगर संसदबाट पास हुँदैन । स्थानिय तहको निर्वाचनपछि पनि संविधान संसोधन पास गर्न तयार छौ । अहिले स्थानिय चुनावमा जाऔं ।’ नेता पौडेलले चुनावबाट मात्र नेपाली जनताको अधिकार स्थापित हुने तर्फ सवैले ध्यान दिनुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले एमाले र मधेशी दलहरु अतिवादका कारण मुलुक संकट तर्फ फस्न लागेको बताए । पौडेलले एमालेले विगतमा आफैले प्रस्ताव गरेको विषयको विरोधमा उत्रेर अहिले राष्ट्रवादको नक्कली कुरा गरि जनतालाई भ्रममा राखेको बताए । घुमाउरो पारामा एमाले र अध्यक्ष ओलीलाई नक्कली राष्ट्रबादी भन्दै पागल समेत भनेका थिए ।

राष्ट्रियता हिमाल तराई र पहाडको एकताले मात्र बलियो हुने पौडेलको भनाई थियो । पौडेलले एमाले नेताहरुले मधेशका बारेमा आत्मामुल्याङकन गर्न जरुरी भएको धारणा राखेका थिए । मधेशका नेताहरुले भनेको जस्तो मधेशी जनताको चाहना नभएको भन्दै नेपाली कांग्रेसले मधेशमा मधेशी जनतालाई अभियान संचालन गरेर संझाउनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाउनका लागि आफु तयार रहेको बताउदै पार्टीलाई एकतावद्ध बनाउने जिम्मा सभापतिको भएको बताए । पार्टी कि विधी र पद्दतीबाट चलाउनुपर्ने नभए सहमतिका आधारमा चलाउनु्पर्ने बताउदै पौडेलले भने– ‘पार्टी कि विधी र पद्दती अनुसार चल्नुप¥यो कि सहमतिका आधारमा चल्नुप¥यो, नभए अधिनायकवाद तर्फ उन्मुख हुन्छ ।’ स्वकीय सचिब चिन्जिवी अधिकारीका अनुसार वरिष्ठ नेता पौडेलले कार्यकर्ताहरुले नेताको मुल्याङकन गर्न आवश्यक भएको र नेताहरुको कार्यकर्ताहरुको संरक्षण गर्न आवश्यक भएको बताए ।