समाचार

लौ हेर्नुहोस्, यसरी फसिन्छ फेसबुकमा !

काठमाण्डौ । महानगरीय अपराध महाशाखाले १२ फागुनमा वैदेशिक रोजगार व्यवसायी प्रेम कटुवाललाई पक्राउ गर्योफ । कटुवाल पक्राउको कारण धेरैका निम्ति जति अचम्मको विषय थियो, त्यति नै उनलाई लागेको अभियोग लागेको छ ।  सामाजिक संजाल फेसबुकमार्फत अनेकन आश्वासन दिएर पैसा असुल्ने अन्तर्राष्ट्रिय गिरोहमा कटुवाल संलग्न रहेको महाशाखाको आरोप थियो । कटुवाल पक्राउपछि सामाजिक संजाल र अन्य प्रविधिको प्रयोग गरेर लाखौं रुपैयाँ असुल गर्ने प्रवृत्ति सतहमा आएको छ ।

तर यस्तै प्रकृतिको मुद्दामाथि निरन्तर अनुसन्धान गरिरहेको अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोका निम्ति यी दुवै नयाँ र नौला कुरा होइनन् । आइतबारको कान्तिपुरमा लेखिएको छ, केन्द्रीय अनुसन्धान ब्युरोले साउन यता आठ महिनामा मात्रै भर्चुअल ठगीमा संलग्न पाँच फरक घटनाको अनुसन्धान गरिरहेको छ ।

ब्युरोका अनुसार ती ठगीमा मात्रै पीडितहरुले ६४ लाख रुपैयाँ गुमाएको देखिन्छ । महानगरीय अपराध महाशाखामा पनि यही अवधिमा यस्तै प्रकृतिका सात ठगीका घटना दर्ता भएका छन्, जसमा पीडितले ७० लाख रुपैयाँ गुमाएका छन् ।

महाशाखाकी प्रवक्ता एसपी मीरा चौधरी भन्छिन्, ‘सामाजिक संजालको प्रयोगमार्फत हुने ठगीका घटना सरुवा रोगझैं गाउँ–गाउँसम्म फैलिदैं छ ।  अस्ट्रेलियन नागरिक हेन उल्ग्यान र भ्यालेन्टाइन उल्ग्यानले फेसबुकमा पठाएको फ्रेन्डरिक्वेस्ट काठमाडौंकी एक गृहिणीले स्वीकार गरिन् । त्यही फेसबुके मित्रता विस्तारै संवादमार्फत निकटतामा परिणत भयो ।

अस्ट्रेलियन दम्पतीले एक दिन कुरैकुरामा ती युवतीलाई भने, ‘तिमीलाई दुई आइफोन, ८५ हजार पाउन्ड र ल्यापटप उपहार पठाएका छौं ।’ यस्तो खबर आएको केही दिनमै ती युवतीलाई भारतीय नम्बरबाट फोन आयो । भारतीय युवतीले भनिन्, ‘तिमीलाई पठाएको उपहार भारत आइपुग्यो, त्यसलाई भन्सार छुटाउन ७५ हजार चाहियो ।’

युवतीले उपहारको लोभमा दायाँ–बायाँ केही नसोची रकम पठाइदिइन् । ती युवतीले उपहारको लोभमा चार पटक गरेर ७ लाख ४२ हजार रुपैयाँ भारतीय युवतीले भनेका फरक फरक बैंक खातामा हालिरहिन् । तर न उनको उपहार आयो त अस्ट्रेलियन दम्पती नै जवाफदेही बने । महाशाखाले यो र यस्तै ठगीको घटनाको तारमा कटुवालको संलग्नता देखाएको छ ।