राजनीति

एकाबिहानै अन्तिम विदाई माग्दै प्रचण्डसँग रणजित रायले गरे यस्तो कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका रायले बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिएका थिए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायतको उपस्थित रहेको जनाइएको छ ।