पर्यटन/संस्कृति

विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले माउन्टेन फ्लाइट हुने

मोरङ । विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ ।

विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको जनाएका हुन् ।

विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको आयोजक संस्था मध्यको विराटनगर ट्राभल्स एसोसिएसनका अध्यक्ष भविशकुमार श्रेष्ठले बताए।

उनका अनुसार २९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ। विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने जनाइएको छ।

काठमाडौबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्खला विराटनगरबाट ५० मिनेटमा नै हुने श्रेष्ठले बताए।
उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले अहिलेको अवस्थामा पूर्वमा धेरै सम्भावना रहेको भए पनि त्यो हुन नसकिरहेको अवस्थामा त्यो पुष्टि गराउन र सरकारलाई दबाब दिनका लागि यो एउटा नयाँ अभ्यास हुने तर्क गरे। रासस