खेलकुद

दृष्टिविहीन नेपाली क्रिकेटरले राखे कीर्तिमान

काठमाण्डौ । नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्तिमानी खेलाडी बनेका हुन्।

बी थ्री क्याटेगोरीका पदम दृष्टिविहीन विश्वकप क्रिकेटमै दोहोरो शतक प्रहार गर्ने दोस्रो क्रिकेटर बनेका छन्। नेपालका लागि भने शतक र दोहोरो शतक प्रहार गर्ने उनी नै पहिलो क्रिकेटर हुन्। यसअघि सन् २०१२ मा भएको पहिलो विश्वकप क्रिकेटमा पाकिस्तानका मोहम्मद अक्रमले वेस्ट इन्डिजविरुद्ध दुई सय ६४ रन प्रहार गरेका थिए। शुक्रबारको अन्नपुर्णपोष्टमा लेखिएको छ, त्यसयता अन्य कुनै पनि देशका खेलाडीले दोहोरो शतक प्रहार गर्न सकेका थिएनन्।

टेस्ट मान्यता पाएका १० मध्ये नौ राष्ट्र (जिम्बाबेबाहेक) का दृष्टिविहीन टोलीले प्रतिस्पर्धा गर्ने विश्वकपमा नेपाली खेलाडीले दोहोरो शतक प्रहार गर्नु महत्ववपूर्ण उपलब्धि हो। सन् २०१२ देखि सुरु भएको दृष्टिविहीन टीट्वेन्टी विश्वकपमा प्रतिस्पर्धा गर्ने नेपाल एकमात्र टेस्ट मान्यता नपाएको राष्ट्र हो।

न्युजिल्यान्डविरुद्धको खेलमा पदम र नेपालका अन्य केही कीर्तिमानसमेत कायम भएका छन्। पदमले शुक्रबार न्युजिल्यान्डविरुद्ध मात्र ९० बलको सामना गर्दै ३६ चौका प्रहार गरे जुन अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालिमा कुनै पनि नेपाली खेलाडीले प्रहार गरेको सर्वाधिक चौका हो। पदमले ऐतिहासिक प्रदर्शनमा खुसी लागेको बताए। ‘दोहोरो शतक प्रहार गर्छु भनेर त सोचेको थिइनँ। टिमलाई जिताउँछु भनेर गएको थिएँ, २१ वर्षीय पदमले भने, ‘दोहोरो शतक प्रहार गर्न सकेकोमा खुसी लागेको छ। आगामी प्रतियोगितामा पनि यस्तो प्रदर्शन जारी नै राख्नेछु।

कैलालीका अलराउन्डर पदम पछिल्लो पाँच वर्षयता दृष्टिविहीन क्रिकेट खेल्दै आइरहेका छन्। पदमको कीर्तिमानी प्रदर्शनसँगै नेपालले न्युजिल्यान्डलाई एक सय ११ रनको ठूलो अन्तरले पराजित गर्न सफल भयो। यो जित पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा हात पारेको (रनका आधारमा) अहिलेसम्मकै सर्वाधिक ठूलो अन्तरको जित हो। बेङ्लोरको अलुरस्थित कर्नाटक राज्य क्रिकेट संघको मैदान एकमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले बिनाकुनै क्षति तीन सय तीन रनको योगफल बनाएको थियो। तर समयभित्र आफ्नो इनिङ नसकेको न्युजिल्यान्डले थप १२ रनको पेनाल्टी पाएपछि नेपालको योगफल तीन सय १५ रन पुगेको थियो। जबाफमा आएको न्युजिल्यान्डलाई १९.१ ओभरमा एक सय ७४ रनमै समेट्दै नेपालले महत्ववपूर्ण जित हातपारेको हो।

नेपालले न्युजिल्यान्डविरुद्ध आफ्नो कीर्तिमानी साझेदारीसमेत गरेको थियो। पदमको दोहोरो शतकका बाबजुद अर्का सुरुआती ब्याट्सम्यान शोभराम डाँगीले पनि ३९ बलमा अविजित ५३ रनको अर्धशतकीय पालि खेल्दै नेपालको अहिलेसम्मकै उच्च रनको साझेदारीका लागि मद्दत पुर्या ए।