खेलकुद

भ्याली पब्लिकलाई दोहोरो सफलता

काठमाण्डौ । भ्याली पब्लिक हायर सेकेन्डरी स्कुल, काठमाडौंले छैटौं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार दोहोरो जित हात पारेको छ ।

भ्याली पब्लिकले एआईएलाई ४२–१६ तथा ज्ञानोदयलाई ३७–१० ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा सविता सुवेदीले १० र रोशनी श्रेष्ठले ९ अंक योगदान गरे । गल्र्सकै अन्य खेलमा श्रीदिवाले ग्रिनल्यान्डलाई १३–८ तथा माउन्ट कैलाशले भ्याली पब्लिक, ललितपुरलाई १२–१० ले हराए ।

जुनियर ब्वाइजमा ज्ञान निकेतनले एआईएलाई १८–१६, नवज्योतिले आयोजक इनोभेटिभलाई १७–११, पुष्पसदनले हिमालयलाई २६–१३ तथा रेडिअन्टले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १६–१० ले पराजित गरे ।

सिनियर ब्वाइजमा दोहोरो जित आत्मासात् गरेको माउन्ट कैलाशले स्वप्न वाटिकालाई ३२–१८ तथा युलेन्सलाई ३७–२२ ले पन्छायो । बाबा विरुद्धको खेलमा एचएचसीए ४८–३५ ले विजयी भयो ।