पु.समाचार

पोखरा पुगेर कुलमान घिसिङले दिए ३ करोड नेपालीका लागि अर्को शुभ संकेत !

पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले विद्युत उपभोक्ताहरुका लागि फेरि अर्को एउटा नयाँ शुभ खबर सुनाएका छन् । सोमबार पोखरा आइपुगेका घिसिङले नेपाल साहित्य महोत्सवमा बोल्दै अबको केही वर्षभित्र विद्युत प्राधिकरण नाफामा जाने र मुलुकभर विद्युत लोडसेडिङमुक्त हुने खुलासा गरेका हुन् ।

कार्यकारी प्रमुख घिसिङले अर्को आर्थिक वर्षभित्रै प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने अभियानमा आफुल लागिरहेको समेत स्पष्ट पारे । प्राधिकरणको वार्षिक कुल ३७ अर्बको घाटालाई सुन्यमा झारेर नाफामुखी संस्थाको रुपमा प्राधिकरणलाई उभ्याउने दृढता व्यक्त गर्दै उनले त्यसका लागि प्राधिकराले विद्युत चुहावट नियन्त्रण अभियानलाई समेत तीव्रता दिएको बताए ।

आफुले नेतृत्व गरेको संस्थाप्रति गर्ब गर्दै उनले उक्त संस्थामा सबै गलत मानिसहरु मात्रै नभएको र सबैलाई परिचालन गरेरै आफु सफल हुने दाबी गरे । प्रमुख घिसिङले अहिले नेपालको पिक आवरमा भारतबाट ३ सय ४० मेगावाट बिजुली आयत भइरहेको र त्यसलाई घटाउने प्रयासमा व्यवस्थापन लागिरहेको समेत बताए ।

कुनै पनि काममा प्रतिबद्धता र सही लिडरसिप भयो भने मात्र काम गर्न सकिने बताउँदै उनले त्यसका लागि सबैको साथ चाहिने समेत स्पष्ट पारे । उनले राम्रो मान्छे मात्र छानेर नहुने बताउँदै नराम्रो मान्छेलाई समेत राम्रो र उचित किसिमले काममा लगाउन सक्नु लिडरसिप भएको समेत स्पष्ट पारे ।

कार्यकारी प्रमुख घिसिङको नेतृत्वमा केही महिनाअघि काठमाण्डौ उपत्यका लोडसेडिङ मुक्त भएको थियो । उनले यो अभियानलाई देशव्यापी बनाउने तयारीमा आफु लागिरहेको बताइरहेका छन् । उनले थालेको यो अभियानको सर्वसाधारणले खुलेर प्रशंसा समेत गरिरहेका छन् ।