खेलकुद

पदक विजेता टोली स्वदेश फर्कियो

काठमाडौं । दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको पदक विजेता खेलाडीसहितको टोली बुधबार स्वदेश फर्किएको छ । श्रीलंकाको कोलम्बोमा जनवरी १५ र १६ तारिखमा भएको प्रतियोगितामा नेपालले पुरुष/महिला रेगु र डबल्समा गरी जम्मा ४ स्पर्धामा सहभागिता जनाएको थियो । चारै स्पर्धामा नेपाल रजत पदक जित्न सफल भएको थियो ।

पुरुषमा अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ तथा महिलामा सोममाया थापा मगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी पाँच राष्ट्रले प्रतियोगितामा भाग लिएका थिए ।

प्रतियोगितापछि भएको दक्षिण एसियाली सेपाकताक्रो महासंघको चौथो बैठकले प्रतियोगिताको तेश्रो संस्करण २०१८ को जनवरीमा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । पहिलो संस्करण पनि नेपालमै भएको थियो ।

बैठकमा दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के, महासचिव ध्रुव गुरुङ, सचिव नेत्रप्रसाद गुरुङ र सदस्य राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले भाग लिएका थिए । सोही बैठकले विष्टलाई सदस्यबाट उपाध्यक्षमा मनोनित गरेको थियो ।

प्रतियोगितामा गंगाबहादुर गुरुङले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने अर्जुनबहादुर ठकुल्ला र रोशन भट्टराईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । राखेपका प्रेस सल्लाहकार रोहित दाहाल पनि टोलीसंगै फर्किएका छन् । टोलीलाई नेपाल सेपाकताक्रो संघका पदाधिकारीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।