पु.समाचार

अज्ञात गाडीको ठक्करबाट घलेको मृत्यु

चितवन । पश्चिम चितवनको चनौली नजिकैको भित्री सडकमा नचिनेको सवारीको ठक्करबाट बिहीबार एक जनाको मृत्यु भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बिहीबार बिहान गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

अन्दाजी ३ बजेको समयमा घटना भएको जस्तो देखिएको उनको भनाइ छ । उनको टाउकोमै गाडीले ठक्कर दिएको अवस्थामा शव फेला परेको र गाडी पहिचान हुन नसकेको उनले जानकारी दिए ।

प्रारम्भिक जानकारीमा गुञ्जनगरका अन्दाजी ४२ वर्षीय घले सोमे नाम गरेको व्यक्ति बताइए पनि यकिन पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा पठाइएको र शवको मुचुल्का गरिने जनाइएको छ । भित्री सडक र एकान्त ठाउँ भएकाले दुर्घटना भएको र सवारी फरार रहेको प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रको नाकामा प्रहरी परिचालन गरेर गाडीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए ।