राजनीति

एमाले निकट युवासंघले दियो सरकारलाई कडा चेतावनी

रुपन्देही । प्रमुख प्रतिपक्षी एमाले निकट युवासंघ नेपालले केही महिनाअघि संगठनका रुपन्देही जिल्ला अध्यक्षको हत्यामा संलग्न अपराधीलाई खोज्न सरकारले कुनै चासो नदिएको जनाएको छ । आइतबार युवा संघ नेपाल, रुपन्देहीले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष तिवारीको हत्यामा संलग्न अपराधीहरुको खोजी गरी कार्वाही प्रक्रिया अघि नबढाए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत सरकारलाई दिएको छ ।

संघले अध्यक्ष तिवारीको षडयन्त्रपूवर्क  तथा कायरतापूर्ण ढंगबाट हत्या भएको आरोप लगाउँदै करिब एक महिनाको समय वित्दा समेत अपराधीलाई कानुनी कठघरामा उभ्याने कार्यमा ढिलासुस्त्ती भएको भन्दै आफ्नो संगठनको गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

राजनीतिक आस्थाका आधारमा हत्या गरिएको आरोप लगाउँदै संघले राज्य प्रशासन गम्भीर नभएको आरोप समेत लगाएको छ । हत्यालगत्तै आफ्नो संगठनले थालेको आन्दोलन राज्यपक्षबाट तुरुन्तै अपराधीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिबद्धतापछि स्थगित गरिएको स्मरण गराउँदै संघले सात दिनभित्र अपराधीहरुलाई कानूनी घठघरामा उभ्याउन नसके अर्को चरणको आन्दोलनको घोषणा गर्ने कडा चेतावनी समेत दिएको छ ।

तोकिएको मितिभित्र अपराधीहरुलाई कानूनी कठघरामा नल्याए अब हुने आन्दोलनबाट उत्पन्न्न हुनसक्ने सम्भावित परिस्थितिको जिम्मेवारी स्वयं राज्यले लिनुपर्ने संगठनका केन्द्रीय सचिवालय सदस्य देवराज पोख्रेल र रुपन्देही जिल्लाका कार्याबहक अध्यक्ष नकुल शाही ठकुरीको नाममा जारी भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जिल्लाकै देबदह नगरपालिका १० का युवा संघका अर्का कार्यकर्ता मिलन मल्ल माथि समेत सांघातिक आक्रमण भएको जनाइएको छ । सो आक्रमणप्रति समेत सो संघठनले घोर आपत्ति जनाउँदै अपराधीहरुलाई कानूनी कठघरामा ल्याउन राज्यसँग माग गरेको छ ।