राजनीति

जनार्दन शर्मामाथि ढुंगामुढा भएपछि वाइसिएलले दियो कडा चेतावनी !

काठमाण्डौ । बिहीबार अर्घाखाँची महोत्सवमा भएको घटनाप्रति माओवादीले आशंका व्यक्त गरेको छ । अर्घाखाँची महोत्सवका क्रममा उर्जामन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा प्रभाकर प्रमुख अतिथि रहेको सो कार्यक्रममा स्थानीयबासीले ढुंगामुढा गरेको खबर बाहिर आइरहेका बेला माओवादी र उसका भातृसंगठनहरुले सो घटना स्थानीयबासीको आवरणमा नियोजित भएको भन्दै आशंका व्यक्त गरेका हुन् ।

घटनामा अन्य पार्टीका कार्यकर्ताहरु घुसेको आशंका गर्दै माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालका महासचिव रामप्रसाद सापकोटा दिपशिखाले सम्बन्धित दलका कार्यकताहरुले माफी नमागे वाइसिएल नेपाल चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै महासचिव सापकोटाले भनेका छन, ‘हेक्का रहोस, उज्यालो नेपालका अभियन्ता तथा उर्जामन्त्री जनार्दन शर्मामाथि अर्घाखाचीमा भएको आक्रमणमा सम्बन्धित दलका कार्यकर्ताले माफी नमागे वाइसिएल नेपाल चुप बस्ने छैन ।’

वाइसिएलका महासचिव सापकोटाको यो अभिव्यक्ति आएसँगै सो कार्यक्रममा भएको घटनाप्रतिको जिम्मेवार थियो भन्ने प्रश्न खडा भएको देखिन्छ । बिहीबार भएको सो महोत्सव उद्घाटनका क्रममा उर्जामन्त्री शर्मा र अर्का माओवादी नेता डिलाराम आचार्यले पाँच नम्बर प्रदेश टुक्रयाउने अभिव्यक्ति दिएलगत्तै स्थानीयबासिन्दाले ढुंगामुढा बर्साएका थिए । उर्जामन्त्री शर्मा र नेता आचार्य लगायतका अतिथिहरुको टिमलाई सुरक्षाकर्मी र स्थानीय माओवादी कार्यकर्ताले जोगाएका थिए ।