खेलकुद

बिमल स्मृति भलिबलको उपाधि सेनालाई

दार्चुला । स्व. बिमल सिंह बुढाथोकीको स्मृतिमा सञ्चालित भलिबल तथा सांस्कृतिक कार्यक्रम बुधबार समापन भएको छ । जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ । स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो ।

स्व बिमल स्मृति आयोजक समिति, राप्लाको आयोजनामा गत शनिबारदेखि सुरु उक्त प्रतियोगितामा सर्मोली सेना सामु २५–२०, २५–१४ र २५–१८ फराकिलो अङ्कको अन्तरमा पराजित हुँदा द्वितीयमा चित्त बुझाउनु परेको थियो । सेनाले उपाधि कब्जासँगै रु ५१ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पार्न सफल भएको छ । द्वितीय भगवती युवा क्लब, सर्मोलीले रु २५ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी पाएको छ ।

त्यस्तै, नेपाल प्रहरी र सामुदायिक ग्रामीण विकास समाज (सिआरडिएस) नेपाल तृतीय भएका छन् । तृतीय दुवै टोलीले समान रु ११ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । आयोजक समितिले प्रतियोगितामा सहभागी सबै टोलीलाई मायाको चिनोसमेत प्रदान गरेको छ ।

त्यसैगरी, यहाँ मात्र बसोबास रहेको आदिवासी जनजाति रङ (शौका) समुदायबीच भएको नृत्य प्रतियोगितामा सर्वहित मावि दुम्लिङ प्रथम, भारतको महिला मङ्गल दल डोङकाङ द्वितीय र तिङ्कर युवा क्लब तृतीय भएको स्व. बिमल स्मृति भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजक समिति, राप्लाका संयोजक धिरनसिँह बुढाथोकीले जानकारी दिए ।

नृत्य प्रतियोगितामा नेपाल र भारतका कुल सात टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयीलाई क्रमशः प्रथमलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई नगद रु पाँच हजार, ट्रफी र मायाको चिनो प्रदान गरेको आयोजकले जानकारी दिएका छन् ।

राप्ला गाविसमा स्थायी घर भएका बुढाथोकी भलिबल खेलाडी भएकाले उनको सम्झनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजक समिति राप्लाका संयोजक बुढाथोकीले बताए । उक्त प्रतियोगितामा दुई भारत, तीन विभागीयसहित २६ टोलीको सहभागिता रहेको थियो । बुढाथोकीको गत वर्षको कात्तिक २४ गते अपी नगरपालिकाको धापमा जिप दुर्घटनामा मृत्यु भएको थियो ।

सांस्कृतिक कार्यक्रममा यहाँका स्थानीय कला झल्कने नृत्य, देउडा गीत, शौका समुदायको आफ्नै भाषाका गीत गाइने आयोजक समितिका संयोजक बुढाथोकीको भनाइ छ । यो प्रतियोगिताले नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्ध र परम्परालाई सम्झाएको छ ।