राजनीति

पृथ्वीनारायण शाहलाई सम्झँदै झण्डै रोएनन् प्रचण्ड, दिए यस्तो भावुक प्रतिक्रिया !

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताएका छन्  ।  भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को मंगलबार  उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

तत्कालीन समयमा भारतमा अङ्ग्रेज साम्राज्यले स–साना भूरे टाकुरे राज्यलाई विशाल साम्राज्य खडा गरिरहेको समयमा नेपालमा शक्तिशाली राज्य नभएको भए यसको अस्तित्व इतिहासबाट लोप हुने खतरा भइरहेका बेला पृथ्वीनारायण शाहले केन्द्रीकृत राज्य बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएको स्मरण गरे ।

अहिले पृथ्वीनारायण शाहको जन्मदिनमा बिदा दिने कि नदिने भन्ने विषयमा नेपालमा बहस रहेको प्रधानमन्त्री दाहालले बताए । मधेसमा अरू आदिवासी जनजातिको कुरा या अलग समुदायमा पृथ्वीनारायण शाहको भूमिकालाई कसरी हेर्ने भन्ने विषयमा बहस छ त्यस बहसलाई राजनीतिक रुपले टुङ्गो लगाएर मात्र निक्र्योल गर्नुपर्ने उनले बताए ।

मन्त्रिपरिषद्को बैठकमा दुईपटकसम्म यस विषयमा छलफल भएको भन्दै उनले भने, ‘म राजनैतिक तहमा यो विषयमा छलफल गरेर एउटा समुचित निस्कर्ष निकाल्ने कुरामा पहल गर्ने छु भनेको छु ।’ तत्कालीन समयमा केन्द्रीकृत राज्य नहुँदा जनतालाई समेत आपत् परिसकेको भन्दै उनले प्रत्येक राज्यपिच्छे कर तिर्नुपर्ने कारणले व्यापार विनिमयमा नकारात्मक असर परेको पनि बताए ।

इमान्दार नागरिकले आफ्नो इतिहासप्रति गौरव गर्न सक्नुपर्ने भन्दै उनले भने, ‘हामीले गौरव गर्ने विन्दु छ त्यो हो एउटा कविलाई भूरे टाकुरे राज्यबाट केन्द्रीकृत एउटा बलियो सामान्तीनै राज्य बन्नु प्रगतिशील हो त्यो पछि हटेको कदम होइन ।’

पृथ्वीनारायण शाहलाई सम्झेर निकै भावुक हुँदै शान्तिप्रक्रिया भएका बेला पुरानो सबै चिजलाई नष्ट गर्नुपर्छ र नयाँ निर्माण गर्नुपर्छ भन्ने अलि बढी उन्माद आफ्नै पार्टीभित्र देखिएको स्मरण र पश्चाताप गर्दै उनले कतै-कतै पृथ्वीनारायण शाहको सालिक ढाल्ने काम भएकामा आफुले त्यसलाई रोकेको समेत बताए ।

प्रधानमन्त्री दाहालले एसियाकै नमुना अस्पताल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा त्यहाँका पदाधिकारी, कर्मचारीको मुख्य समस्या देखिएको र उपकरण पुराना भएकाले यसको सुधारका लागि आफू तयार रहेको बताए । उपकरणको सन्दर्भमा आफूले चिनियाँ अधिकारीसँग कुराकानी गरिरहेको पनि जानकारी दिए ।

सोही अवसरमा प्रधानमन्त्री दाहालले आफू कुलपति रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको विवाद आफ्नै कार्यकालमा टुङ्ग्याई छाड्ने बताए । सोसम्बन्धी राष्ट्रिय योजना आयोगका सदस्यको नेतृत्वमा बनेको समितिले १०र१५ दिनमा प्रतिवेदन दिने र त्यसलगत्तै समस्या समाधान गरिने बताए ।

अर्को एक प्रसङ्गमा प्रधानमन्त्री दाहालले दियालो बङ्गला ऐतिहासिक स्थल रहेको हुँदा नेपाल ट्रस्टको स्वामित्वमा रहेको सो जमिन राज्यका निम्ति र नगरको हितमा प्रयोग गर्ने विषयमा पहल गर्ने बताए ।