अन्तर्राष्ट्रिय

पाकिस्तानमा बीस जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका स्थानीय उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । पञ्जाव प्रान्तको सोहावा क्षेत्रमा एक कार अर्को एक भ्यानसँग आपसमा ठोक्किँदा भएको दुर्घटानमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ घाइते भएका स्थानीय समाचार च्यानल समाले जानकारी दिएको छ ।

यस दुर्घटनामा आठ पुरुष, चार महिला र दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । त्यसगरी सहिवाल जिल्लामा भएको अर्को एक छुट्टै सडक दुर्घटनामा कम्तीमा ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका छन् । यस दुर्घटनामा दुई वटा बस एक आपसमा ठोक्किएको थियो ।

पञ्जाव प्रान्तका प्रमुख मन्त्री साहबाज सरिफले यस घटनाहरु प्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै घटनामा घाइते भएका सवैको उपचारको राम्रो प्रवन्ध मिलाउनको लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत  दिएका छन् ।