पु.समाचार

काठमाण्डौ उपत्यकावासीका लागि निकै खुसीको खबर, सरकारले गर्यो दुई महत्वपूर्ण निर्णय !

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि त्यससम्बन्धी ढाँचा तयार गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिलाई सो सम्बन्धमा यसअघि भएको अध्ययन गर्ने र सञ्चालन लागतमा कति छुट दिएर कसरी अघि बढाउन सकिन्छ भन्ने कार्यादेश दिएको प्रमुख कार्यकारी अघिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

तीन महिनाको समायावधि दिइएको उक्त समितिमा अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र रेल विभागका प्रतिनिधि रहेका छन्  ।
त्यस्तै बैठकले कुनै पनि परियोजनाबाट लगानी बोर्डले लिने शुल्कसम्बन्धी प्रावधान हाललाई पछि सारेर परियोजनासम्बन्धी वार्ता अघि बढाउने निर्णय गरेको उनले बताए ।

लगानी बोर्डसम्बन्धी नियमावलीले परियोजना लागतको ०.२ प्रतिशत शुल्क बोर्डलाई तिर्नुपर्ने व्यवस्था गरेको छ । उक्त शुल्कको ३० प्रतिशत रकम भने लगानीसम्बन्धी वार्ताअघि नै बोर्डले लिनुपर्ने व्यवस्था छ । सो नियम लागू हुनुअघि नै पेस भएका आयोजना प्रस्तावकहरुले वार्तामा नबस्ने भनेपछि यो व्यवस्था गरिएको हो । यही प्रावधानका कारणले कतिपय परियोजना अघि बढाउनेसम्बन्धी वार्ता रोकिएको थियो ।

बैठकले परियोजना बैंक बनाउन पनि स्वीकृति दिएको छ । बोर्डले यसअघि नै परियोजना बैंक बनाउने कार्यका लागि परियोजनाको विस्तृत विवरण सूची तयार गरिसकेको छ ।

सुन्दरीजल–सिन्धुखण्ड जोडियो
त्यस्तै, मेलम्चीको पानी काठमाडौँ ल्याउन खनिएको सुरुङको ९ दशमलब ४ किमी सुन्दरीजल–सिन्धुखण्ड जोडिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्म खन्न सुरु गरिएको २७ किमी लामो सुरुङमध्ये ९ दशमलब४ किमी पुस १३ गते ‘ब्रेक थ्रु’ भएको थियो । सो सुरुङको आइतबार खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सुरुङको बीचमा रिबन काटेर उद्घाटन गरे ।

मेलम्ची खानेपानी विकास समितिले आज सुन्दरीजलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री खड्काले बिना कुनै जोखिम र दुर्घटना सुन्दरीजल–सिन्धुखण्ड ‘ब्रेक थ्रु’ भएको बताए ।

‘राष्ट्रिय गौरवको यो आयोजना सम्पन्न भएबाट सबै जुटेर लागे विकास सम्भव छ भन्ने प्रमाणित भएको छ, बाँकी काम पनि दसैँअघि नै सम्पन्न गरेर पानी ल्याउने अभियानमा सरकार लागेको छ’, उनले बताए ।

सिन्धुपाल्चोक ३ नं क्षेत्रबाट निर्वाचित सांसद शेरबहादुर तामाङले मेलम्चीको पानी काठमाडौँवासीलाई दिन आयोजना निर्माण गरिएको बताए । ‘मेलम्चीसँगै याङ्री र लार्केको पानी पनि छिटो काठमाडौँमा ल्याउनुपर्छ, यसका लागि मेलम्ची जस्तो २७ वर्ष नलागोस्, सुरुङले सिन्धुपाल्चोक र काठमाडौँ जोडिएको छ, काठमाडौँको जस्तै विकास पानी पठाइदिने जिल्लामा पनि होस्’,उनले भने ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले विसं २०७४ को दसैँको उपहारका रुपमा काठमाडौँवासीलाई पानी दिन लागिएको सुनाए । ‘नेपालमा ठूला आयोजना तीव्रगतिमा भएको पहिलो उदाहरण यो हो, अन्य राष्ट्रिय गौरवका आयोजना पनि यही गतिमा अघि बढ्नुपर्छ’, उनले भने ।

समितिका निमित्त कार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले २७ किमी सुरुङमध्ये ५दशमलब४ किमी बाँकी रहेको जानकारी दिए ।

कार्यक्रममा मेलम्ची आयोजनाका लागि ऋण सहयोग दिने एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर किनिची योकोहामा, परामर्शदाता कम्पनी एप्टिसा–बेट्स जेभीका आवासीय सह–व्यवस्थापक शिवकुमार शर्मा र इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीका साल्भातोने क्यासीकोले दसैँअघि नै पानी ल्याइने प्रतिबद्धता जनाए ।

यसरी आइतबारनै काठमाण्डौ उपत्यकावासीका लागि शुभ खबरहरु आएका छन् । यी दुई सपना पूरा भए उपत्यकावासीका लागि ठूलो राहत महसुस हुने आंकलन गर्न सकिन्छ ।