राजनीति

कांग्रेस नेतृ सुजाता कोइरालाका फ्यानहरुका लागि खुसीको खबर !

काठमाण्डौ । विगत दुई महिनादेखि शरीरमा ब्रेस्ट क्यान्सरको संकेत देखिएपछि घरमै आराम गरेर बसेकी कांग्रेस नेतृ सुजाता कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । नेतृ कोइरालाको स्वास्थ्यमा सुधार आएलगत्तै शनिबारदेखि उनी बाहिरी कार्यक्रममा समेत सहभागी हुने योजनामा रहेकी छन् ।

नेतृ कोइराला दुई महिनाको आरामपछि पहिलोपटक शनिबार गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको उनका स्वकीय सचिव लक्ष्मण थपलियाले जानकारी दिए । नेतृ कोइरालाले पछिल्ला दिन कार्यकर्ताहरुसँगको भेटघाटलाई समेत बाक्लो बनाएकी छन् । शनिबार बिहान मात्र कोइरालाले थुप्रै कांग्रेस कार्यकर्ताहरुलाई भेटेकी थिइन् ।

‘केही महिनाअघिको भन्दा अहिले सुजाता दिदीको स्वास्थ्यमा निकै सुधार आइसकेछ,’ शनिबार बिहान कोइरालासँग भेटेर फर्किएका तरुण दल सुनसरीका नेता सन्नी श्रेष्ठले बताए । नेतृ कोइरालाको स्वास्थ्यमा सुधारको संकेत देखिएपछि पछिल्लो समय प्रत्येक दिन बिहान एकदेखि दुई घण्टा उनले आफ्नै घर वरिपरि मर्निङ वाक समेत गर्ने गरेकी छन् ।

कांग्रेस नेतृ कोइरालासँग भेटघाट गर्दै सुनसरीका कांग्रेस कार्यकर्ताहरु

‘पछिल्ला दिन खासै समस्या देखिएको छैन, उहाँले अब बाहिर सार्वजनिक कार्यक्रममा समेत जाने रुटिन बनाइसक्नुभएको छ, अब निकै स्वस्थ हुनुभएको छ,’ थपलियाले जानकारी दिए । केही समयअघिदेखि ब्रेस्ट क्यान्सरको संकेत देखिपछि नेतृ कोइरालाको दिनचर्या घरमै बित्ने गरेको थियो । कोइरालाले पहिलोपटक सिंगापुर र पछिल्लोपटक मलेसियामा आफ्नो स्वास्थ्य परीक्षण गरेकी थिइन् ।

स्वास्थ्य परीक्षणमा उनलाई ब्रेस्ट क्यान्सर हुन लागेको चिकित्सकहरुले बताएका थिए । त्यसयता उनी पार्टी लगायतका कुनै कार्यक्रमहरुमा सहभागी भएकी थिइनन् । उपप्रधानमन्त्री समेत भइसकेकी नेतृ कोइरालामा क्यान्सर रोग देखा परेपछि मुलुकको राजनीतिक तह समेत तरंगित भएको थियो ।

नेतृ कोइराला पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाकी एक्ली छोरी समेत हुन् । राजनीतिमा सक्रिय सो परिवारकी सदस्य कोइराला पछिल्ला दिन कुनै पनि कार्यक्रममा सहभागी नहुँदा नेपाली कांग्रेस र सो पार्टी भित्रका उनका समर्थक र शुभचिन्तक निकै चिन्तित देखिन्थे ।