पु.समाचार

उदयपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु

गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ एउटा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिप दुर्घटनामा मृत्यु हुनेमा हर्देनी–१ का ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीया भीमकुमारी राउत छन् ।

सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, ४६ वर्षीय रेशमकुमार कार्की र १७ वर्षीया एलिना श्रेष्ठ गम्भीर घाइते भएकामा भेषराज र विष्णुबहादुरलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल, निलबहादुर र रेशमकुमारलाई विराटनगरस्थित न्युरो अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पतालमा राति नै पठाइएको प्रहरीले बताएको छ ।

कटारीबाट गहुँबारीतर्फ जाँदै गरेको स १ ज ४०९ नंको उक्त बलेरो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत गहुँबारीको भिरबाट स्टेरिङ फेल भई ३०० मि तल खसेको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए ।

जिप चालक हर्देनी–३ का ३२ वर्षीय शेरबहादुर खत्री भने जिपबाट हामफालेर ज्यान जोगाउन सफल भएको प्रहरीले बताएको छ । उक्त जिपमा नौ जना सवार थिए । रासस