आर्थिक

को होलान् विमानस्थलमा बरामद गरिएको सुनका मालिक, प्रहरी अलमलमा

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद ३३ किलो सुनको ‘मालिक’ अझै पत्ता लाग्न सकेको छैन । सुन बरामद भएको दुई दिन बित्दा पनि प्रहरी सुन मालिकको खोजीमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विशेष सुराकका आधारमा सुन बरामद गरे पनि सुन मालिक पत्ता लागी नसकेको ब्युरोका प्रहरी उपरीक्षक मीरा चौधरीले स्वीकारेकी छन् ।

बरामद सुनसँगै पक्राउ परेका तीन व्यक्तिले आफूहरू ‘भरिया’ भनेपछि उन्मुक्ति पाएका छन् । त्यस्तै, केही दिनअघि कलङ्कीबाट सात किलो अवैध सुनसहित महानगरीय प्रहरी अपराध महाशाखाले एक व्यक्तिलाई निजी सवारी साधनसहित पक्राउ ग¥यो। सुन बोकेर रसुवाबाट काठमाडौँ आएका चालक कुसाङ लामाले आफू भरिया बताएपछि उन्मुक्ति पाए ।

त्यसअघि मङ्सिरमा बौद्धबाट बरामद १० किलो सुनको मालिकाको सम्बन्धमा पनि अझै पत्तो लाग्न सकेको छैन। महानगरीय प्रहरी वृत्त बौद्धले अवैध सुनका मालिकको खोजी भइरहेको जनाएको छ। महानगरीय प्रहरीका अनुसार, जेठदेखि पुससम्ममा राजधानीबाट ५५ किलो अवैध सुन बरामद भएको छ। तर, सुन मालिक भने पक्राउ पर्न सकेका छैनन्। प्रहरीले अवैध सुन विशेष सुराकीका आधारमा बरामद गर्ने गरेको छ। बौद्धमा पटक–पटक गरी तीन पटकमा १२ किलो, पेप्सीकोलाबाट तीन किलो, कलङ्कीबाट सात किलो र विमानस्थल बाहिरबाट ३३ किलो सुन बरामद भएको छ। यी सबै सुन प्रहरीले सुराकका आधारमा बरामद गरेको हो। सुन मालिक पत्ता नलाग्नु घटना आफैँमा रहस्यमय बनेको छ। अवैध सुन ओसारपसारमा संलग्न भरिया भने सहजै पक्राउ पर्छन् ।

ती अवैध सुन तस्करीका घटनामा सात जना भरिया पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘अवैध सुनको सूचना आउँछ तर सुन मालिकको नाम नखोल्ने भएकाले पत्ता लगाउनै गाह्रो हुन्छ। ’ सुन बोक्ने व्यक्ति नै मालिक भए पनि भरिया भएको बयान दिने भएकाले अनुसन्धान गर्नसमेत समस्या पर्ने गरेको उनले बताए। सुन तस्करीका मालिक फरार र भरिया मात्र पक्राउपर्ने भएकाले सुनको अवैध ओसारपसार तथा कारोबारमा नियन्त्रण आउन नसकेको दाबी सुन व्यवसायीको छ तर, प्रहरीले भने सुराकीबाट प्राप्त हुने सूचनाका आधारमा सुन बरामद गर्दा भरिया मात्र पक्राउ पर्ने गरेको जनाएको छ।

सुन तस्करीको रुट परिवर्तन त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँच कडा पारेपछि सुन तस्करले रुट परिवर्तन गरी हङकङ चीनबाट सिन्धुपाल्चोक तातोपानी नाका हुँदै स्थलमार्ग प्रयोग गरी नेपाल र भारतसम्म सुन ओसारपसार गर्दै आएका थिए। खाडी मुलुकबाट समुद्री मार्ग हुँदै आयात गरिएको सुन पनि चीनको नाकाबाटै नेपाल भित्र्याउने गरेका थिए। शनिबारको गोरखापत्रमा लेखिएको छ, नेपालबाट स्थलमार्ग प्रयोग गरी भारत निर्यात हुन्छ। २०७२ साल वैशाखको विनाशकारी भूकम्पपछि आंशिक रूपमा बन्द भएको सिन्धुपाल्चोक तातोपानी नाका यस वर्षको बाढी पहिरोका कारण सडक नै बगेपछि ठप्प भयो। तातोपानी नाकाबाट अवैध सुन तस्करी पनि रोकियो। महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक खनालले भन्नुभयो, तातोपानी नाकाको रोग रसुवागढी नाकामा स¥यो। रसुवागढीमा पनि प्रहरीले सुरक्षा चेकजाँच कडा पारेपछि तस्करहरूले हवाई रुट प्रयोग गरेको हुनसक्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको भन्सार चेकजाँच कक्षमा प्रहरीको उपस्थिति नदेखेपछि तस्करहरूले ‘सेटिङ’ मा यति धेरै सुन बाहिर ल्याउन सफल भएको भनाइ प्रहरीको छ। भन्सार कर्मचारीका कारण विमानस्थलमा तैनाथ प्रहरीले भन्सार कक्षमा सुरक्षा जाँचसमेत गर्न पाउँदैनन्। सुन तस्करहरू जहाँ सहज ‘एक्सेस’ हुन्छ त्यही पुग्छन् ।

अवैध सुन चीनको हङकङबाट भारत लैजान तस्करले नेपाली भूमि प्रयोग गर्छन्। जेठयता रसुवामा आठ र काठमाडौँमा ५५ गरी ६३ किलो सुन बरामद भएको छ। विगतमा सिन्धुपाल्चोक तातोपानी नाकाबाट भित्रिने अवैध सुन बौद्ध, चावहिल, कोटेश्वर र भक्तपुरबाट बरामद हुने गथ्र्यो। तातोपानी नाका बन्द भएपछि रसुवाका अतिरिक्त धादिङको गल्छी, राजधानीको कलङ्की, स्वयम्भू र विमानस्थलबाट बरामद हुनेगरेको छ। सुन तस्करहरूले प्रहरीको आँखा छल्न समयसमयमा आयात गर्ने रुट र लुकाउने स्थानसमेत परिवर्तन गर्ने गरेको पाइएको छ ।