-रंगलाल रिमाल
काठमाडौ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाले आगामी माघ २८ गते संयुक्त सैन्य अभ्यास गर्ने भएको छ । नेपाल र चीनबीचको कुटनीतिक सम्बन्धको इतिहासमा यो पहिलो घटना हो । नेपाल र चीनले इतिहासमै पहिलोपटक संयुक्त रुपमा सैन्य अभ्यास गर्ने खबर बाहिर आएपछि दक्षिण एसियामा यो विषयले निकै ठूलो तरंग समेत ल्याएको छ । भारतले यो सवालमा घुमाउरो ढंगले आलोचना समेत गरिरहेको छ भने केही छिमेकीहरुले यसको स्वागत समेत गरिरहेका छन् । जसले जस्तो प्रतिक्रिया दिएपनि नेपालले भने चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने निर्णय गरिसकेको छ ।
यद्यपि, स्थान भने निश्चित भइनसकेको खबरहरु बाहिर आएका छन् । वास्तवमा नेपाल र चीनले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने विषय बाहिर आएपछि नेपाल–चीन, नेपाल–भारत र चीन र भारतबीचको सम्बन्ध कस्तो रहला ? त भन्ने बहस समेत उठान भएको छ । यो महत्वपूर्ण सवाल पनि हो । चीनले नेपाली सेनासँग घनिष्ठ सम्बन्ध गाँस्ने यो एउटा सुनौलो अवसरको रुपमा लिएको समेत बताइएको छ । वास्तवमा चीनले नेपाली सेनासँग सम्बन्ध विकास गर्ने सोच अहिले होइन दशकौ वर्ष अघिदेखि बनाएको देखिन्छ । नेपाली सेनाको इमान्दारिता र साहासको कदर चीनले यसअघि पनि गरेको थियो । चीनका लागि नेपाली सेनाले निकै महत्वपूर्ण सहयोग समेत गरेको देखिन्छ । त्यसैको लामो प्रक्रिया र परिणामस्वरुप अहिलेको यो अवसर जुरेको समेत जानकारहरु बताउँछन् । त्यसकारण यही प्रसंगसँग जोडेर हामीले चीन र नेपाली सेनाबीच थप घनिष्ठता कसरी र कस्ता सहयोगहरुका कारण बढ्यो भन्ने एउटा महत्वपूर्ण प्रसंगलाई समेटेका छौ ।
वास्तवमा नेपाल र चीन बीचको पछिल्ला वर्षदेखि बढेको घनिष्ठ सम्बन्धको विषयलाई लिएर व्यापक रुपमा बहस भैरहेको छ । यद्यपि, ओली नेतृत्वको सरकारको पालामा भन्दा प्रचण्ड नेतृत्वको सरकारको पालामा चीन केही झस्केको देखिन्छ तर चिनियाँहरुको छिमेकीप्रति हेर्ने दृष्टिकोण तत्कालन नबदलिने भएकोले त्यसले असर नपार्ने जानकारहरु बताउँछन् ।
चीन जनसंख्याको आधारमा संसारकै ठूलो देश र आधुनिक विकासले फड्को मारिरहेको देश भएपनि आफ्नो मुलुक वरिपरि रहेका १३ वटा छिमेकीहरु मध्ये नेपाललाई किन यति धेरै महत्व दिइरहेको छ भन्ने विषयमा समेत बहस भैरहेका छन् ।
जानकारहरुका अनुसार तिब्बतको सुरक्षा मामिलालाई लिएर उसले यति धेरै चासो देखाएको हो । करिब ४० वर्षअघि नेपाल–तिब्बतको सीमामा भएको एउटा विद्रोह देखि चीन निकै सतर्क हुँदै आएको छ । त्यो हो, मुस्ताङमा भएको खम्पा विद्रोह ।
यो विद्रोहको नेतृत्व स्वतन्त्र तिब्बत पक्षधरहरुले गरेका थिए भने नेपालको आन्तारिक सुरक्षामा दख्खल परेको भन्दै तत्कालीन नेपाल सरकारले सेना परिचालन समेत गरेको थियो ।
नेपाली सेनाले सो विद्रोहलाई सजिलै नियन्त्रणमा लिएको थियो । खम्पा विद्रोहको नेतृत्व गरेका कमाण्डरले आत्मसमर्पण गरेर भागेका थिए तर त्यसको केही दिनमै सेनाको कार्वाहीमा पश्चिम नेपालमा ती कमाण्डरको मृत्यु भएको थियो । चीन त्यो घटनापछि साँच्चै नै नेपाली सेना र उसको नेतृत्वप्रति निकै खुसी भएको बताइन्छ ।
त्यसपछि उसले स्वतन्त्र तिब्बतका गतिविधिप्रति सतर्क रहँदै नेपाल सरकारसँग विभिन्न वार्ता र प्रस्तावहरु समेत राखिसकेको छ ।
चीनले नेपालसँग सम्बन्ध विशेषगरी दलाई लामा नेतृत्वदेखि सुरु भएको सो विद्रोहलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ अघि बढाएका बहसहरु निकै वर्षअघि देखि हुँदै आएका छन् ।
पछिल्लो समयमा पनि नेपालमा निर्माण हुने सरकार आफ्नो पक्षमा हुनुपर्ने उसको भित्री अडान यसैमा अडिएको बताइन्छ ।
यद्यपि, चीनले तिब्बतको सुरक्षा मामला लगायत आफ्नो दक्षिण एसियातर्फ अघि बढ्ने आन्तारिक योजनाका साथ नेपाल–तिब्बत क्षेत्रलाई उपयोग गरिरहेको भन्ने बहसहरु समेत भैरहेका छन् ।
चीनको अनूरोधमा यसरी भएको थियो सेना परिचालन
नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकार तथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा तत्कालीन शाही नेपाली सेना परिचालन गरियो ।
९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ) हरूका युनिटहरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनीहरूलाई आत्मसमर्पण गर्न समय सिमा तोकी दिए ।
हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागे । पछि नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेना बाट उनी डोटीमा मारिए ।
यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरीक सुरक्षामा एउटा मात्र ब्याटलका लागि यती ठूलो संख्यामा परिचालन भएको थियो ।
वि.सं ०३२ तिर खम्पाहरूलाई त्यहाँबाट पोखरा सारिएको थियो । खम्पाहरूलाई यहाँबाट अन्यत्र सारेपछि उनीहरूले प्रयोग गर्ने एउटा बङ्कर सम्झनाको रूपमा रहेको छ भने अरू सबै कुरा निमिट्यान्न भएका छन् ।
च्याकुमा खम्पाले बनाएका घरहरू हाल नार गाउँलेले र क्याङ्मा खम्पाले बनाएका ३५ घर फूबासीले प्रयोग गररिहेका छन्। यी घर हिउँदमा अन्नपात तथा बस्तुभाउ राख्नका लागि उपयोग गरिन्छ ।
नेपालमा यसरी घुसेका थिए खम्पाहरु
खम्पा विद्रोह चीनले तिब्बतको सार्भभौमिकता लिईसकेपछि स्वतन्त्र तिब्बतका लागि मुख्यतया नेपाली भूमीबाट भएको सशस्त्र बिद्रोह थियो। तिब्बतको खाम क्षेत्रका बासिन्दालाई उनीहरूको भाषामा खम्पा भनिन्छ। वि.सं २०को दशकको बेला चिनियाँ फौजसँग लड्न तालिम र सेल्टरका लागि खम्पाहरू अवैध रूपमा मनाङ आएका थिए ।
सन १९७४ मा नेपाली भूमि प्रयोग गरी तिब्बती खम्पाहरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध शुरू गरे । मनाङमा त उनीहरूको गाउँका गाउँ घरजम नै थियो। यहाँ तालिम लिएपछि उनीहरू लड्न मुस्ताङ पुग्थे ।
खम्पाहरू बिहान च्याकुबाट झुनाम, झुनामपाङ्त्यी, गाङ्र्यानको लेक भएर च्याकुसम्म दौडेर सैनिक अभ्यास गर्थे। उनीहरूले झुनाममा सैनिक पोस्ट बनाएका थिए।
च्याकुमा सभाकक्ष, कार्यालय, गोदाम र सैनिक निवास गरी १० वटा भवन बनाइएको थियो। त्यसैगरी, उपल्लो मनाङको भ्राताङ क्षेत्र पनि उनीहरूकै अधीनमा थियो। उनीहरू नार र फूमा रहेका खम्पाभन्दा अनुदार थिए। तल्लो मनाङबाट उपल्लो मनाङ जाने मूल बाटोमा उनीहरूले सैनिक क्याम्प राखेका थिए।
आवतजावत गर्ने स्थानीयलाई पनि खानतलासी गर्थे। त्यसबेलाका प्रत्यक्षदर्शीका अनुसार सैनिक अभ्यासका बेला बाटो हिँड्न दिँइदैन्थ्यो। उनीहरू यहाँका भीर, पहरामा दौडेर अभ्यास गर्थे। जंगली जनावर मारेर सखापै पारेका थिए। आसपासका स्थानीयबासीसँग पनि उनीहरूको पानी बाराबार थियो।
त्यसबेला मनाङको नार-फू उपत्यका र भ्राताङ गाउँ क्षेत्र खम्पाहरूको नियन्त्रणमा थियो। उनीहरूले भ्राताङ, च्याकु, झुनाम, क्याङ र मु्रँचलाई आफ्नै बस्तीका रूपमा विकास गरेका थिए। यस क्षेत्रमा मनाइने ल्होसार, घोडेजात्रा, तीरजात्रालगायतका चाडपर्व उनीहरू स्थानीयसँग मिलेर मनाउँथे। धेरैजसो पर्व मनाउने चाँजोपाँजो भने खम्पाहरू नै गर्थे।
खम्पाहरूले खेर गएको भिरालो जमीनलाई बारी र गह्राका रूपमा विकास गरेर गहुँ, करु र फापर फलाएका थिए। उनीहरू काठको डुँडबाट पानी ल्याएर सिँचाइ गर्थे।
क्याङमा फलाएको अन्न खम्पाहरूलाई मात्र नभएर नार र फू दुवै गाविसमा आपूर्ति गरिन्थियो। उनीहरू मुस्ताङ र उपल्लो मनाङमा रहेका आफन्तलाई समेत उपहारका रूपमा पठाइदिन्थे।
नारमा केही उत्पादन भयो भने खम्पाहरूलाई बिक्री गरिन्थियो। खम्पाहरूले गाउँलेलाई बिनाब्याज ऋण दिएर सहयोग गर्थे। काममा पनि सहयोग आदान(प्रदान हुन्थ्यो। यातायातका लागि उनीहरूले झोपा्र, घोडा, खच्चड र याक पालेका थिए भने मासुका लागि भेडा, च्याङ्ग्रा।
खम्पाहरूले यहाँ धेरथोर विकासका काम पनि गरे तर उनीहरूले त्यो आफ्जो सहजताका लागि गरेका थिए। जस्तोस् म्यातादेखि नार तथा फूसम्मको बाटोलाई व्यवस्थित गरे। यहीँबाट मुस्ताङ जाने बाटो बनाए। म्रुँच र झुनाम खोलामा काठको पुल हाले। म्रुँच खोलामा त अझै त्यही पुल मर्मत गर्दै प्रयोग भइरहेछ।
खम्पाहरूले झुनाम खोलामा बनाएको पुल हाल चल्तीमा रहेको बाटोभन्दा निकै तल भएकाले प्रयोग गर्न सकिने अवस्थामा छैन । फू आवतजावत गर्नका लागि बिहानको ११ बजेभन्दा अगाडि नै खोला तरसिक्नुपर्छ, नत्र हिउँ पग्लेर खोला ठूलो हुने भएकाले दिउँसो बगाउन सक्छ ।
स्थानीय बासिन्दाहरुको भनाई अनुसार, ‘खम्पाहरू गएपछि उनीहरूले बनाएको म्यातादेखि क्याङ्सम्मको हालको चल्तीको बाटो मर्मत सम्भारमा समेत सरकारले चासो देखाएको छैन।’
माथि उल्लेखित उक्त ऐतिहासिक घटनाबाट चीन नेपाली सेनाप्रति निकै प्रभावित भएको देखिन्छ र उसलाई स्वतन्त्र तिब्बत अभियान चलाइरहेका पृथकतावादीहरुको विद्रोह दबाउन नेपालले साथ दिन्छ भन्ने उसलाई पूर्ण रुपमा विश्वास समेत रहेको देखिन्छ, यसकारण पनि नेपाली सेना र चिनियाँ सेनाबीच थप घनिष्ठ सम्बन्ध बढ्दै गएको देखिन्छ ।
जानकारहरुका अनुसार नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यासले यो सम्बन्धलाई थप घनिष्ठ बनाउने समेत बताइन्छ । भारतले भने यो अभ्यासलाई मन नपराएका प्रसंगहरु समेत बाहिर आएका छन् । नेपाल र चीनबीचको यो कदमले अर्को छिमेकीलाई चिढ्याउन भने नहुने कुटनीतिक विश्लेषक र सुरक्षाविदहरुको भनाई छ ।