समाचार

देशका ३८ जिल्ला खुला दिसामुक्त घोषित

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्रालयले हालै ३८ जिल्लालाई खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरेको छ । मन्त्रालयले सन् २०१७ को अन्त्यसम्म हरेक घरमा चर्पी बनाउने उद्देश्यका साथ काम गरेपनि हाल ३८ जिल्लामात्र खुला दिसामुक्त जिल्ला घोषणा गरेको हो ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले दिसापिसाबले गर्दा जथाभावी फोहर हुने र अनेक प्रकारका रोग लाग्ने भएको हुँदा मन्त्रालय चाँडो खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काममा जुटेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘अरु पाँच जिल्ला पनि छिट्टै खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने क्रममा छौँ ।’ सचिव उपाध्यायले हाल ८८ प्रतिशत जनताको घरमा चर्पी रहेको भन्दै तोकिएकै समयमा देशभर नै चर्पी बनाएर खुला दिसामुक्त देश बनाउने बताए । रासस