राजनीति

स्ववियु निर्बाचन कुनै हालतमा समयमै हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तोकिएको मितिमा जसरी पनि गराउनुपर्नेमा सहभागीले जोड दिएका छन्।

अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले आज ‘अबको स्ववियु निर्वाचन’ विषयक बहस कार्यक्रममा उनीहरुले विगत ७ वर्षदेखि स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलनको धराशायी बन्दै गएकाले तोकिएको मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कोही जित्ने वा हार्नेभन्दा पनि विद्यार्थी आन्दोलन जोगाउनका लागि स्ववियु निर्वाचन आवश्यक भएको बताए। उनले स्ववियु निर्वाचनमा जित्नेभन्दा हार्नेले लोकतन्त्र जोगाउने भएकाले निर्वाचन जसरी पनि गर्नुपर्ने बताए।
उनले अहिलेको विद्यमान कानुन अवलम्बन गरेर होस् वा कानुन संशोधन गरेर भए पनि निर्वाचन गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा त्रिविका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले विद्यार्थी सङ्गठन यसपटक स्ववियु निर्वाचन गर्न तयार देखिएको निर्वाचन हुने बताइन्। उनले आगामी फागनु १४ गते जसरी पनि निर्वाचन हुने बताइन्।

त्रिविले आगामी फागुन १४ गते स्ववियु निर्वाचनको मिति घोषणा गरिसकेको छ। “गत वर्ष पनि हामीले निर्वाचन गर्न अभ्यास गरेका थियौँ । तर सम्भव भएन”, उनले भनिन्–“यसपटक हामीले विद्यार्थी सङ्गठनसँग पटकपटक छलफल गरेका छौँ ।”

उनले निर्वाचनमा उमेर हद–बाधा नबन्ने भन्दै निर्वाचन प्रणालीका सन्दर्भमा भने सङ्गठन एकमत हुनुपर्ने धारणा राखिन्।
कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नबिना लामाले स्ववियु नहुँदा विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएकाले जसरी पनि स्ववियु निर्वाचन गर्नुपर्ने बताइन्। उनले आफ्नो सङ्गठन जित वा हार नभई स्ववियु निर्वाचन गर्न जस्तोसुकै परिणाम भोग्न पनि तयार रहेको बताइन्।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका सहमहामन्त्री प्रेमराज जोशीले स्ववियु निर्वाचनको गराउने सुनिश्चिता भए आफ्नो सङ्गठनले उमेर र प्रणालीका बारेमा विवाद नगर्ने बताए।

अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले विद्यार्थी आन्दोलनको रक्षा गर्न स्ववियु निर्वाचन अपरिहार्य भएको बताए। कार्यक्रममा मधेसी विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष मिश्रले क्याम्पसको विद्यार्थीको हकहितको रक्षाका लागि स्ववियु निर्वाचन हुनुपर्ने बताए।

अनेरास्ववियुका सचिव सुदेश पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै अहिलेको स्ववियुको पुनः संरचना गरेर तोकिएको मितिमा निर्वाचन गर्नुपर्ने बताए ।