विशेष

यी हुन् सन् २०१६ मा विश्व हल्लाइदिने महत्वपूर्ण घटनाहरु

-एकराज पाठक

काठमाडौं । सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन । चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो । यसले संसारकै मिडियामा बडो ठूलो चर्चा पायो । र त्यो भन्दा पनि ठूलो चर्चा त उनको बिजयको भयो, जसले लगभग संसारका अनुमानहरुलाई झण्डै उल्टो नै सावित गरिदियो ।

त्यसो त अमेरिकी राष्ट्रपतिको निर्वाचनको चर्चा यस अघिपनि हुने गरेकै हो । तर अघिका तुलनामा यस पालिको भने पात्रका कारणले बढी चर्चामा आयो । पहिलो कुरा त वर्तमान राष्ट्रपतिको चुनाव प्रचारको शैली र अभिव्यक्ति तथा दोस्रो सारा अमेरिकी र लगभग संसारकै मिडियाको अनुमानभन्दा फरक आएको परिणामले चर्चाको अर्को शिखर चढेको थियो ।

ट्रम्प राष्ट्रपति भएपछि पनि अमेरिका र विश्वमा के हुन्छ भन्ने अर्का चर्चा सुरु भयो र त्यो अद्यापि छँदै नै छ । अमेरिका संसारको शक्ति राष्ट्र हो र यसको राजीतिक प्रभावले यो भूगोललाई यो वा त्यो हिसाबले छुने गर्दछ । त्यसैले अनपेक्षित रुपमा ट्रम्प आएपछि उनले लिने नीतिले अब संसारलाई के कसरी छुने हो भन्ने कौतुहलतापूर्ण चर्चा अहिले पनि छ । र सायद उनले आफ्नो कार्यभार सम्हालेपछिको केही महिनासम्मको कार्यशैलीले यो चासोले विराम पक्का पनि पाउँदैन ।

त्यसपछि यसवर्ष बढी चर्चित अर्का घटना हो बेलायतले युरोपले युनियन छोड्ने निर्णय । यो पनि लगभग अमेरिकी राष्ट्रपतिकोजस्तै अर्का अनपेक्षित परिणाम हो । एकाध जनगुनासोलाई चित्त बुझाउनका लागि ‘लौनत’ भनेर तत्कालीन प्रधानमन्त्रीले ख्यालख्यालमै घोषणा गरेको जनमत संग्रहले ट्रम्पको पक्षमा दिएजत्तिकै परिणाम दियो ।

युरोपेली युनियनमा बेलायत बस्न नहुने माग विपक्षीबाट आएपछि बेलायतका तत्कालीन प्रधानमन्त्रीले जनमत संग्रहको घोषणा गरे । तर जुन २३ मा भएको सो जनमत संग्रहले परिणाम भने बेग्लै दियो । बेलायतले युरोपेली युनियन छोड्नुपर्छ भन्ने पक्षमा ५२ र छोड्नुहुदैन भन्ने पक्षमा ४८ प्रतिशत बृटिशले मत व्यक्त गरे ।

वास्तवमा सरकारले जनमत संग्रहको घोषणा गर्नेबेलासम्म यस एजेण्डाले त्यति चर्को रुप लिएको थिएन तर घोषणापछि प्रचार प्रसारको क्रममा नै यसले लगभग उग्र रुप लिनपुग्यो । अन्ततः नसोचिएको परिणाम आयो । यस परिणामले युरोपलाई त झट्का दियो नै संसारलाई पनि युरोपमा देखिने बिभाजनले अन्य भूगोलमा कस्तो असर पार्ला भनेर चिन्ताहरु निम्त्याइदियो । यसरी यस घट्नाले पनि संसारमा चासो र चर्चा थपिदियो भने युरोपमा चिन्ता ।

संसारमा चर्चाको शिखरमै रहेको अर्को घटना हो उत्तर कोरियाको आणविक परीक्षण । संसारलाई जिस्काएजस्तो वा विश्वले बोलिरहँदा पनि आफूलाई कुनै वास्ता र डर नभएजस्तो गरी वर्षमै पटकौँसम्म उत्तर कोरियाले गरेको आणविक परीक्षणको घटना विश्वका संचारमाध्यमहरुको अग्र स्थानमा रहन पुग्यो । अमेरिकालगायत संसारले यस्तो परीक्षणको कार्य तुरुन्त बन्द गर्न उत्तर कोरियालाई दिएको धम्की र उत्तर कोरियाले अरु विश्वलाई नत्र झन्ठूलो आणविक परीक्षण गरिदिने भनेर दिने गरेका जवाफी आणविक फायरिङहरु नै संसारका मिडियामा स्थान पाएका थिए ।

संयुक्त राष्ट्रसंघ एवम् अमेरिकाले उत्तर कोरियामाथि बिभिन्न समयमा नाकाबन्दी एवम् कारबाहीको चेतावानी दिए । राष्टसंघीय सुरक्षा परिषदले उक्त देशलाई पटक पटक निन्दा गर्दै यस्ता कार्य रोक्न चेतावानी पनि दियो । तर त्यसका बाबजुद पनि उसले सन् २०१६ को जनवरीदेखि नै आणविक परीक्षणको काम सुरु गर्यो र वर्षको उत्तरार्धसम्म नै यसले निरन्तरता दियो ।

युरोपमा भएको आतंककारी हमला पनि सन् २०१६ को अर्को प्रमुख घटना हो । गएका केही वर्षहरुदेखि युरोप कुनै न कुनै किसीमले चर्चामै छ । सन् २००९ को विश्व आर्थिक मन्दीले युरोजोनलाई कैयौं वर्षसम्म सतायो । त्यसपछि सुरु भयो युरोपमा आप्रवासी समस्या । यसले पनि युरोपको समृद्धि र बिकासको मार्गमा राम्रैसँग धावा बोल्यो । र अहिले युरोपमा आतंकवादको ठूलो त्रास छ ।

गएको मार्च २२ मा बेल्जियमको ब्रसेल्सको एक विमानस्थल र रेल स्टेसनमा आतंककारी हमला भयो । त्यसबाट कम्तीमा पनि ३४ जना निर्दोष नागरिक मारिए र अरु दर्जनौँ घाइते भएर बसे । त्यो भन्दा ठूलो बर्बरता देखियो फ्रान्सको निस सहरमा । एक क्रुर मानिसले उक्त सहरमा फ्रान्सको राष्ट्रिय दिवस मनाइरहेका सयौं मानिसहरुको भीडमा शक्तिशाली विस्फोटक पदार्थले भरिएको ट्रक ठोकाएर ८४ जना नागरिकको हत्या गर्यो ।

आधुनिक समाजको आतंककारी बर्बरतासहितको यो अती क्रुर नमूना थियो । यो ट्रक हमलाले वर्षको उत्तररार्धतिर पनि छोएर गयो जर्मनीको बर्लिन सहरमा । त्यहाँ पनि केही नागरिकको यो हमलाबाट ज्यान गयो । यसरी सिंगो युरोप यतिखेर यस्तो आतंककारी हमलाबाट सताइएको छ । युरोपले यसका विरुद्धमा ठूलै संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ सिंगो युरोप बनेर ।

टर्कीमा भएको असफल सैनिक कू पनि यसवर्षको अर्को एक चर्चित घटना हो । गएको जुलाई १५ का दिन टर्कीका राष्ट्रपति रिसेप तयप एर्दागान बिदामा रहेका बेला त्यहाँको सेनाले असफल कू को प्रयास गर्यो । सेना रातिको समय पारेर सडकमा ओर्लियो र जथाभावी आक्रमण गर्यो । सरकारी टेलिभिजन नियन्त्रणमा लियो, सैनिकलाई नियन्त्रणमा लियो र सत्ता लिएको प्रचार गर्यो । सेनाको एक टुकडीले गरेको यो प्रयास सफल भएन र जसले गर्दा त्यहाँका हजारौं हजार कर्मचारी, सेना, प्राध्यापक, शिक्षकलगायतले जेलमा बिताउनुपर्यो । त्यस्तै कम्तीमा पनि ५० हजार जनाले जागिरबाट हात धुनुपर्यो भने २०० जनाको ज्यानै गयो । त्यो प्रयास असफल भयो र त्यस प्रयासमा सम्लग्न सेनाहरु पनि सयौं जना जेलमा छन् ।

साउथ चाइना सि को चीन र फिलिपिन्सको विवादले पनि संसारको ध्यान तान्यो । यस विवादका कारण चीनको वान बेल्ट वान रोडको योजनामा पनि असर पर्ने त होइन भन्ने पनि लाग्यो । फिलिपिन्सले साउथ चाइना सिमा आफ्नो हिस्सेदारीको कुराले गर्दा यी दुई देशबीच तनाव बढ्यो । तर पछिल्लो समयमा आएर भने यसमा सन्तुलन आएको छ । यसमा चिनियाँ कूटनीति सफल देखिएको छ । फिलिपिन्सको यस दाबीले चीनको अखण्डतामा धावा बोलेको मात्र नभई यसले अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन गरेको भनी चीनले विश्वव्यापी रुपमा निरन्तर रुपमा दबाब सिर्जना गर्यो । जसका कारण हाललाई भने यसले समाधानको मार्ग पछ्याएको देखिएको छ ।

सिरिया त गएका कैयौं वर्षदेखि नै चर्चाको शिखरमा छँदै नै छ । यस वर्ष पनि सिरियाका कारण वर्षको सुरुवातमै अर्थात् फेब्रुअरी २७ मा रसिया र अमेरिकाले सिरियाको बारेमा संयुक्त युद्धविराम प्रस्ताव ल्याए र त्यसमा समर्थन गर्ने भए । त्यसले अब सिरियामा शान्ति स्थापना हुने भयो भन्ने आशालाई संसारभरी नै जगायो । तर परिस्थिति त्यही रुपमा रहेन उही पुरानै हिंसाको बाटोमा फर्कियो । पाँच वर्षदेखि हिंसाको चपेटामा परेका सिरियाली जनताको आशाको दियो धेरै बलेन र पुनः उही हिंसा सुरु भयो । अहिले पनि सिरियाको हिंसा संसारमै चहराएको छ ।

दुई राष्ट्रपति महिला ब्राजिलकी डिल्मा रुसेफ र दक्षिण कोरियाकी पार्क गेउन हाईविरुद्धको महाअभियोग प्रस्तावले पनि संसारको मिडियाको ध्यान तानेको हो । ब्राजिलमा रुसेफलाई हटाइएसँगै एक ठूलो ल्याटिन अमेरिकी मुलुकमा गएको करिब डेढ दशकपछिको वामपन्थी झुकावको वर्कस् पार्टीको शासन हट्यो । भने महिनौं लामो सडक आन्दोलन र विपक्षीहरुको विरोधका बाबजुद उता दक्षिण कोरियाली राष्ट्रपति हाइलाई पनि हटाइएको छ ।

त्यस्तै, बर्षको लगभग उत्तरार्धका दुई विश्व चर्चित घटना बने संयुक्त राष्टसंघका महासचिवको नियुक्ति र क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन । अक्टोबर ५ मा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस राष्ट्रसंघका महासचिव नियुक्त भए । उनले सपथ पनि लिइसकेका छन् भने अब नयाँवर्षसँगै उनले कार्यभार सम्हाल्ने छन् । त्यस्तै क्युबाली राष्ट्रपति फिडेल क्यास्टोको निधनले पनि संसारमा नै चर्चा पायो । सन् १९५९ मा गुरिल्ला युद्धमार्फत सत्तामा आएका यी नेताले बनाएको क्रान्तिकारी छवीको विश्वका मिडियाले चर्चा गरे । उनले आफ्नो कार्यकालभरि अमेरिकी नाकाबन्दी तथा अमेरिकाको विरोधको सामना गर्नु परेको थियो । उनको यो संघर्षको पाटोलाई विश्वका मिडियाले क्रान्तिकारी छवीका रुपमा प्रस्तुत गरेका थिए