• Friday, December 30th, 2016
  • मङ्गलबार, १५ चैत २०७३

दरबार छाडिदिन पूर्वराजा ज्ञानेन्द्रलाई गोप्य रुपमा यसरी फकाएका थिए कृष्ण सिटौलाले !

प्रकाशित मिति: १५ पुष २०७३, शुक्रबार

काठमाण्डौ । १५ जेठ २०६५ मा संविधानसभाले राजतन्त्रको विधिवत अन्तको घोषणा गरेपछि तत्कालीन सरकारले राजाको बासस्थानको रुपमा नागार्जुनको जंगल र त्यहाँ रहेको गृष्मकालीन दरबार दिने भयो । उनी त्यहाँ सर्नुअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गृहमन्त्री कृष्ण सिटौलालाई भेट्न पठाए ।

सिटौलाले भने, ‘दुनियाँमा राजतन्त्र ढल्दा दुःखद घटना भएका छन् । इरानको राजतन्त्र २५ सय वर्षभन्दा लामो हो । हाम्रो त अढाइ सय वर्ष न हो, राजतन्त्र ढलेपछि विदेश पलायन भएका त्यहाँका अन्तिम राजा मुहम्मद रेजा शाह पहेल्वीको लास स्वदेश लैजान दिइएन । जबकि मुस्लिम संस्कार अनुसार आफ्नै भूमिमा शवदाह हुनुपर्छ । तर नेपालमा त्यस्तो होइन । शान्तिपूर्ण जनआन्दोलनको बलमा प्रतिनिधिसभा पुनस्र्थापित भयो । त्यसले गठन गरेको सरकारले संविधानसभा निर्वाचन गरायो । संविधानसभाको पहिलो बैठकले राजतन्त्र समाप्त भएको निर्णय गर्यो । यहाँ त्यही निर्णय अनुसारनै नारायणहिटी दरबारभन्दा बाहिर जाँदै हुनुहुन्छ । यसरी जाँदा केही समस्या छन् कि ? भए हामी समाधान गर्छौ । मलाई गिरिजाबाबुले यही प्रयोजनका लागि यहाँ पठाउनुभएको हो ।’

सिटौलाको कुरा सुनेपछि ज्ञानेन्द्रले, म तपाइँसँग एक्लै कुरा गर्न चाहान्छु भने । त्यहाँ मुख्यसचिव, गृहसचिव, निजामति सेवामा ल्याइएका दरबारका सचिवहरु थिए । उनीहरु बाहिर निकालिए । त्यसपछि ज्ञानेन्द्र र सिटौलाबीच ५५ मिनेट कुराकानी भयो ।

सिटौलाले गिरिजाको सन्देश सुनाए, ‘तपाईँको पालामा आएर शान्तिपूर्ण तवरले राजतन्त्रको अन्त भएको छ । त्यसैले हामी तपाईँलाई सम्मानपूर्वक बिदा गर्छौ । तपाइँ देशको राष्ट्राध्यक्ष हो । यही हैसियतमा राज्यको तर्फबाट गर्नुपर्ने कुरा के छ ? तपाइँलाई सम्मानपूर्वक राख्ने सोचाइ र तयारी त हाम्रो पनि छ । तर आफ्नो केही अलग्गै कुरा छन्कि ? म गिरिजाबाबुको दूत भएर आएको हुँ । उहाँको पालामा (गिरिजाको) मात्रै होइन, उहाँका दाजुहरु,उहाँका बाबुबाजेका पालादेखि राजासँगै मिलेर काम गर्दै आएको इतिहास छ । आहिले त्यो राजतन्त्र हट्न परिस्थिति बन्यो । तर यो अवस्थामा सम्मानजनक रुपमै सरकार तपाईँहरुसँग व्यवहार गर्न चाहान्छ, गिरिजाबाबु चाहानुहुन्छ ।’

यसपछि बल्ल ज्ञानेन्द्र बोल्न थाले । एकदम भावुक मुद्रामा । उनको मुख्य जोड थियो, राजमुकुट र राजदण्ड जस्ता कुरामा ।  ‘म पनि परिस्थितिबस राजा भएको हुँ । रोयल म्यासाकर (दरबार हत्याकाण्ड) पछि मैले मेरो बंश परम्परा धान्नुपर्ने अवस्था आयो, राजा भएँ । आज संविधानसभाले हाम्रो वंश परम्पराको अन्त गरेको छ । त्यो निर्णय मान्छु । हाम्रो बंशले उहिल्यैदेखि पहिरिँदै आएको राजमुकुट र राजदण्ड हामीसँग भए हाम्रा सन्तानले त्यसलाई सुरक्षित राख्ने थिए । वंशको चिनो पनि हो,’ ज्ञानेन्द्रको जिकिर थियो, राणाहरुले २००७ सालमा शासन ढलेपछि राजमुकुट लिएर गए, हामीले पनि पाउँछौ होला नि !’

सिटौला भने, हैन, त्यो राष्ट्रको संग्राहलयमा सम्पतिको रुपमा सुरक्षित हुन्छ, राणाहरुले लगे, बेचे कि खाए ? थाहा छैन । तर अब त हिजोको राजसंस्थाको चिज यहाँहरुको निजी विषय रहँदैन । सिंगो देशको इतिहासको विषय रहन्छ । राजमुकुट लगेर यहाँहरुले आफ्नो खोपीमा राख्नु र त्यो राजमुकुट हेर्न चाहाने देश विदेशका मान्छेलाई देखाउनुमा, देखाउनुले जित्छ ।’

सिटौलाले यति भनेपछि ज्ञानेन्द्रले कुनै प्रतिवाद गरेनन् । अनि सुरक्षाको कुरा सोधे । पूर्वराष्ट्राध्यक्षको हैसियतले जे पाउने हो त्यही दिने कुरा सिटौलाले राखे । तर, सेनाको सुरक्षा हटाउने बताए । ज्ञानेन्द्रले सेनाबाहेक अरु सुरक्षा निकायले सट रेन्जको तालिम नलिएको हुँदा तालिमप्राप्त सुरक्षाकर्मीको व्यवस्था गरिदिन अनुरोध गरे ।

त्यसपछि सिटौलाले सशस्त्र प्रहरीले तालिमप्राप्त सुरक्षाकर्मी तयार नपारुन्जेलका लागि सेनाको सुरक्षा दिने र सशस्त्रले त्यस्तो व्यवस्था गरेपछि सेना स्वतः विस्थापित हुने कुरा सुनाए ।

त्यसपछि ज्ञानेन्द्रको अर्को आग्रह थियो, मुमा बडामहारानीबारे । भने, ‘हाम्रो मुमा र सरला मुमालाई यहीँ (नारायाणहिटी) राख्ने व्यवस्था मिलाइदिनुपर्यो ।’ सिटौलाले भने, कुरा ठिकै हो, वृद्धावस्थामा उहाँहरुलाई कति ठाउँ कुदाउँने ? यहाँहरुको मुमा हामी सबैको मुमा हो । ठिकै छ । क्याबिनेटबाटै पास गराउनुपर्छ । मैं प्रस्ताव लैजाउँला ।’

अनि ज्ञानेन्द्रले सोधे, ‘अहिले तोकिएको दिनभित्र म कहाँ जाऔं ?’ सिटौलाले भने, ‘निर्मल निवास जानुहोस् । राणाकालीन दरबार समेत राष्ट्रियकरण भैसकेका छन् । नागार्जुनमा बस्नका लागि सबै व्यवस्था सरकारले गर्ने भनिसकेको छ । त्यसबाहेक यहाँले रोजेको कुनै ठाउँ, कुनै घर, दरबार भए भन्नुहोला, म कुरा लैजान्छु र यहाँको चाहाना पूरा गर्न हरसम्भव प्रयत्न गर्छु ।’ ज्ञानेन्द्रले भने, ‘ठिक छ । मलाई तपाइँको प्रस्तुति राम्रो लाग्यो ।’ ५५ मिनेट कुरा गरेपछि सिटौलाले ‘अहिले म जाऔं त ?’ भन्दै नमस्कार गरे । ज्ञानेन्द्रले अर्धहाँसोमा बसेको ठाउँबाट उठेर भने, ‘हुन्छ, हुन्छ ।’

(जनआस्था साप्तिहकले ‘दरबार छाड्दा ज्ञानेन्द्रका दुखेसा’ शीर्षकमा त्यसबेला प्रकाशन गरेको समाचारबाट साभार)

तपाईंको प्रतिकृयाहरू


Loading...