पु.समाचार

सरकारले तत्काल स्व.राजा वीरेन्द्र र दरबारसँग जोडिएका यी दुई महत्वपूर्ण कुराको सार्वजनिक गर्ने !

काठमाण्डौ । सरकारले स्व.राजा वीरेन्द्र र राजसंस्थासँग जोडिएको महत्वपूर्ण दुई विषयमा तत्काल महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । राजसंस्था ढलेदेखिनै सर्वसाधारणले अपेक्षा गरेको श्रीपेच हेर्न पाउने अधिकार र स्व.राजा वीरेन्द्र बस्ने श्रीसदनलाई सर्वसाधारणका खुल्ला गर्ने तयारीमा सरकार पुगेको हो । यी दुई विषयमा सरकारले तत्काल निर्णय गर्ने तयारी गरेको जनाइएको छ ।

बिहीबार निरीक्षणको क्रममा नारायणहिटी संग्राहलय पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले श्रीपेच सर्वसाधारणले हेर्न मिल्ने व्यवस्था तत्काल मिलाउन त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

सोही अवलोकन भ्रमणका क्रममा नजिकै रहेको श्रीसदनमा समेत पुगेका मन्त्री शाहीले सो भवनको समेत अवलोकन गरेका थिए । श्रीसदन समेत सर्वसाधारणको पहुँचका लागि खुलाउने तयारी भैरहेको नारायणहिटी संग्राहलयका अधिकारीहरुले बताएका छन् ।

मन्त्री शाहीले भने ऐतिहासिक धरोहरहरुको संरक्षण गर्न सरकार तयार रहेको र यसका लागि सबैको दायित्व अनिवार्य भएको बताएका थिए । बिहीबार स्व. राजा वीरेन्द्रको ७२ औं जन्मजयन्ती समेत परेको थियो ।