विशेष

यसकारण भएको रहेछ रुपन्देही युवासंघका अध्यक्ष तिवारीको हत्या, खुल्यो नयाँ रहस्य !

काठमाण्डौ । सोमबार हत्या गरिएका एमाले निकट युवासंघका अध्यक्ष दुर्गा तिवारीको हत्या आफ्नै पार्टीका पूर्व कार्यकर्ताबाट भएको पुष्टि भएको छ । केही वर्षअघिसम्म एमालेकै भातृसंगठन युवासंघमा आबद्ध एक कार्यकताले उनको गोली हानी हत्या गरेको रहस्य पर्दाफास भएको हो । अध्यक्ष तिवारीको हत्या रुपन्देहीकै देवदह नगरपालिका ६ का २८ वर्षीय मनोज पुनले गरेको पुष्टि भएको छ । पनोज बुढाको नामले समेत चिनिने पुनले व्यक्तिगत रिसका कारण उनको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।

सोमबार गोली लागेर घाइते भएका तिवारीको स्थानीय देवदह मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । तिवारीको हत्यापछि सोमबार साँझसम्म रुपन्देहीका विभिन्न क्षेत्रमा युवा संघका कार्यकर्ताहरुले विरोध प्रदर्शन समेत गरेका थिए । उनीहरुले हत्यारालाई तुरुन्तै कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् ।

यस्तो रहेछ तिवारीको हत्याको रहस्य
एमालेका युवा नेताका रुपमा परिचित तिवारी रुपन्देही युवा संघका अध्यक्षका अतिरिक्त व्यावसायीका रुपमा समेत परिचय बनाएका व्यक्ति थिए भने मनोज केही वर्षअघिसम्म एमालेका कार्यकर्ता थिए । दुवैजना एउटै संगठनमा भएपछि उनीहरुबीच मित्रता नहुने कुरा भएन । एउटै संगठनमा काम गर्दै जाँदा मनोज पार्टीको नाममा चन्दा असुलीको धन्दामा लागे । पार्टीको आडमा पैसा असुली गर्न थालेपछि तिवारी लगायतको एउटा समुहले उनको विरोध गर्यो । पार्टीमा समेत उजुरी परेपछि एमालेले मनोजलाई निश्काशन गरिदियो ।

durga-tiwari

पार्टीमा क्रियाशीलसँगै मनोज ठेक्कापट्टा समेत गर्दथे । एमालेबाट बाहिरिए लगत्तै उनी विदेश लागे । बैंकक पुगेका उनलाई पार्टीबाट निश्काशन भएदेखिनै तिवारीप्रति रिस थियो, किनभने उनकै मिलेमतोमा आफुलाई पार्टीले कार्वाही गरेको भान मनोजलाई परेको थियो । त्यसपछि उनी बैंककबाट सिधै भारत पुगेर तिवारीको हत्या गर्ने योजनामा लागे । करिब एक वर्षअघि पनि तिवारीमाथि गोली प्रहारको दुस्साहास भएको थियो । तर त्योबेला भने हत्याराहरु असफल भएको प्रहरीको भनाई छ । यो पटक भने मनोजले तिवारीसँग २० लाख रुपैयाँ फिरौती मागिरहेको रहस्य समेत बाहिर खुलासा भएको छ । मनोजले मागेको रकम तिवारीले दिन नसक्दा उनको हत्या भएको हुनसक्ने अनुमान समेत गरिएको छ । मनोजले भारतबाट फोन गरेर तिवारीको हत्या आफुले गरेको स्वीकारिसकेका छन् ।

एमालेकै नेताले जोगाएका थिए मनोजलाई
मनोजलाई यसअघि पनि हातहतियार खरखजाना सम्बन्धी मुद्धा दायर भएको थियो । गत फागुनमा तिवारीमाथि भएको गोलीकाण्ड पनि मनोजकै योजनामा भएको प्रहरीको भनाई छ । त्यसबेला उनले खटाएका आधा दर्जभन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । मनोजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । सोमबार घटेको घटनापछि प्रहरीले उनको खोजी कार्यलाई थप तिव्रता दिइरहेको बताइएको छ । केही वर्षअघि उनलाई गुण्डागर्दी गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरेको र एमालेका स्थानीय नेताको रोहबरमा उनलाई हिरासत मुक्त गरिएको समेत प्रहरीको भनाई छ ।